नेपाल र भारतका राष्ट्रपतिको भेट जापानमा

0
Shares

काठमाडौं, (नेस)। राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय राष्ट्रपति रामनाथ कोविन्दबीच जापानमा द्विपक्षीय भेटवार्ता हुने भएको छ। जापान भ्रमणमा रहनुभएका दुवै राष्ट्रपतिले भोलि मंगलबार राजधानी टोकियोमा भेटवार्ता गर्दै हुनुहुन्छ।

द्विपक्षीय हितमा केन्द्रित हुने भेटवार्ता आधा घन्टाका लागि तय भएको टोकियोस्थित नेपाली दूतावासले जनाएको छ। म्यानमारको औपचारिक भ्रमणमा रहनुभएकी राष्ट्रपति भण्डारी सो मुलुक हुँदै जापान पुग्नुभएको छ।

जापानका नयाँ सम्राट नारोहितोको राज्यभिषेक समारोहमा सहभागी हुन भण्डारीसहित विभिन्न मुलुकका राष्ट्राध्यक्ष र सरकार प्रमुख टोकियो पुगेका छन्।नारोहितोको राज्यभिषेक भोलि मंगलबार हुँदै छ। यसअघिका ८५ वर्षीय जापानी सम्राट अकिहितोले उमेर र स्वास्थ्यका कारण देखाउँदै राजगद्दी त्याग्ने निर्णय लिएपछि ५९ वर्षीय नारोहितोले यही वर्षको मे महिनाबाट राजकाज सम्हाल्नुभएको थियो। नारोहितो जापानका १२६औं सम्राट हुनुहुन्छ।