गाउँगाउँमा सडक पुग्यो

0
Shares

बैतडी, (नेस)।बैतडीको दशरथचन्द नगरपालिका–२ को प्रत्येक बस्तीमा कच्ची सडक पुगेको वडा कार्यालयले जनाएको छ। रजाड–सडक सडक निर्माणका लागि ठेक्का सम्झौता भएर काम अघि बढेकाले सबै बस्तीहरुमा कच्ची सडकको पहुँच पुगेको वडा अध्यक्ष रनबहादुर बोहराले जानकारी दिनुभयो।

५ किलोमिटर सडक निर्माणका लागि २ करोड नगरपालिकाले बजेट विनियोजन गरेर निर्माण गरिएको थियो। वडा कार्यालयमा जनप्रतिनिधि आएपछि १७ किलोमिटर कच्ची सडक निर्माण गरिएको वडा अध्यक्ष बोहराले बताउनुभयो उहाँले भन्नुभयो“ निर्वाचनका बेला गाउँगाउँमा सडक पुर्याउने आश्वासन दिएकाले सडक निर्माणलाई प्राथमिकतामा राखेको हो”

३० लाखको लागतमा सुन्दरखाली–सुण्न्नाखान साढे तीन किलोमिटर सडक निर्माण गरिएको छ भने १० लाखको लागतमा १ किलोमिटर सुन्दरखाली सौडानीगाड सडक निर्माण गरिएको छ। यस्तै पनकटट्या–सौडाली–थलालगाउँ सडक ८० लाखको लागतमा १२ किलोमिटर निर्माण गरिएको छ।

हल्लेक–सुत्यागाड सडक ५ लाखको लागतमा निर्माण गरिएको वडा कार्यालयले जनाएको छ। ग्रामीण क्षेत्रका नागरिकहरुको सडकमा पहुँच पुगोस भन्ने हेतुले वडा कार्यालयले सडक निर्माणलाई प्राथमिकता दिएको वडा अध्यक्ष बोहराको भनाई छ।

गाउँमा कच्ची सडक पुगेपछि राहत मिलेको स्थानीय दलबहादुर भण्डारीले बताउनुभयो। ग्रामीण कच्ची सडकलाई अब स्तरोन्नति गर्ने तर्फ सरकारको ध्यान जानुपर्ने उहाँले बताउनुभयो। देहीमाण्डौं घुसुल्ला मोडदेखि सुरकाल ढडौन सम्मको सडकलाई स्तरोन्नति गर्नका लागि डीपीआर बनाउने तयारीसमेत भइरहेको वडा अध्यक्ष बोहराले बताउनुभयो। शहरी विकास तथा भवन निर्माण कार्यालयको सहयोगमा सडकको डिपीआर निर्माण गरिन लागेको जनाईएको छ।