ट्रान्सफर स्टेसन बन्यो फोहोर शून्य


काठमाडौं, (नेस)। टेकुस्थित ट्रान्सफर स्टेसनलाई फोहोर शून्य बनाइएको छ। आइतबार मध्यान्ह स्टेशनको अन्तिम फोहोर उठाउने बेला महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेसहित वातावरण व्यवस्थापन बिभागका अधिकारीहरु भेला हुनुभएको थियो। उहाँहरु पुग्दा स्टेशनको करीब ३ मेट्रिक टन फोहोर उठाउन बाँकी थियो।

त्यसै ओखरपौवा गएका ट्रकहरु फर्किएर आएपछि बाँकी भएको फोहोर तिनै ट्रकमा राखेर स्टेशन खाली गराइएको थियो। अन्तिम फोहोर उठाउने सवारी चालक राजकुमार लामा र शरण पौडेलले चलाइरहेको सवारीमा गएर प्रमुख प्रशासकीय अधिकृतले प्रशंशा गर्दै हात मिलाउनुभएको थियो। फोहोर उठाइसकेपछि पानीले स्टेसनको सफाइ गरिएको थियो। दुर्गन्ध नफैलियोस् भनेर पखाली सकेपछि फिनेल र चुना छर्किएर सफाइ गरिएको थियो।

स्टेसन फोहोर शून्य भइसकेपछि वातावरण व्यवस्थापन बिभागका कर्मचारीहरुसँग कुरा गर्दै प्रशासकीय अधिकृत न्यौपानेले भन्नुभयो– ‘अबदेखि ट्रान्सफर स्टेशनमा फोहोर जम्मा गरेर राखिने छैन, ट्रान्सफर स्टेशन भनेको एकछिन बिसाएर, नमिलेको फोहोर मिलाउने ठाउँ मात्रै हो।

अब यसको प्रयोग त्यही अनुरुप हुनेछ।’ स्टेशन खाली भएपछिको प्रतिक्रिया दिँदै वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठले स्टेसनलाई पानीले पखालेर जति सफा गरिएको छ, सधैं त्यत्तिकै सफाइ राख्न प्रयास गर्ने बताउनुभयो।