कांग्रेस जागरण अभियानमा आक्रमण गर्ने धरौटीमा छुटे

0
Shares

बाँके, (नेस)।नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियानका क्रममा बाँकेको सीतापुरमा भइरहेको कार्यक्रममा प्रवेश गरेर आक्रमण प्रयास गरेका तीन जना धरौटीमा छुटेका छन्।
कांग्रेस बाँकेका सभापति किरण कोइरालाको हात भाँचिएको घटनामा नौ जना दोषी भनिएकामध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेर अदालतमा उपस्थित गराएको थियो।

जिल्ला न्यायाधीश रामप्रसाद बस्यालको आदेशमा आइतबार निर्मल खत्री, लोकबहादुर शाही र रोशनसिंह ठकुरी धरौटीमा छुटेका हुन्। उनीहरुलाई सबैलाई जनही एक लाख ५० हजार धरौटी मागिएको थियो।भाद्र २६ गतेको उक्त घटनामा बाँके कांग्रेसले १० जनाविरुद्ध किटानी जाहेरी दिएको थियो।

खजुरा–१ का वडाध्यक्ष सुमन मल्लको समेत नाम राखेर कांग्रेसले जाहेरी दिएकोमा बाँके प्रहरीले मल्लको संलग्नता कतै नदेखिएको भन्दै नौ जनाविरुद्ध मुद्दा चलाएको थियो। त्यसमा तीन जना पक्राउ परेका थिए। ६ जना अझै फरार रहेका छन्।

जाहेरीवालाको तर्फबाट सरकारी वकील यामबहादुर बानिया, भोलासिंह हमाल, प्रल्हादबहादुर कार्की, लोकबहादुर शाह, सुनिल श्रेष्ठ, ईश्वरी ज्ञवाली, कपिलदेव शर्मा, मो. अयुव सिद्धिकी, चित्रबहादुर शाहीले बहस गर्दै ज्यान मार्ने उद्योग भएकाले दश वर्षसम्म सजायको माग दावी गरेका थिए।

त्यसको विपक्षमा वारका अध्यक्ष विकास आचार्य, धु्रव बस्याल, बासुदेव ज्ञवाली, तेजकुमार धितालले बहस गरेका थिए।सीतापुर घटनाले देशव्यापी चर्चा पाएको थियो। कांग्रेसले देशका विभिन्न शहरमा प्रदर्शनमात्रै होइन, संसद नै अवरुद्ध गरेको थियो।