तीन दिनदेखि कामकाज ठप्प

0
Shares

बारा, (नेस)।प्रमुख प्रशासकीय अधिकृत र वडा अध्यक्षबीचको विवादमा बाराको कलैया उप–महानगरपालिकामा ३ दिनदेखि कामकाज ठप्प बनेको छ। प्रमुख प्रशासकीय अधिकृत हरिनारायण बेल्वासेमाथि वडा नम्बर ४ का अध्यक्ष जटाशंकर सहनीले कुटपिट प्रयास र अभद्र व्यवहार गरेको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि उपमहानगरपालिकाको कामकाज ठप्प भएको हो।

विवादका कारण उपमहानगरपालिका कार्यालयसँगै वडा कार्यालय, स्वास्थ्य चौकी र सामुदायिक विद्यालयसमेत बन्द भएका छन। प्रमुख प्रशासकीय अधिकृत बेल्वासेमाथि हातपात प्रयास गर्ने वडा अध्यक्ष सहनीमाथि कानुनी कारवाहीको माग गर्दै कर्मचारीहरुले सेवा ठप्प पारेका हुन।

आन्दोलनको कारण नगरपालिकाको फोहोरसमेत तीन दिनदेखि उठन सकेको छैन। कर्मचारीको आन्दोलनका कारण उमहानगरपालिकाभित्र रहेका सबै संस्था बन्द हुँदा स्थानीय सेवाग्राही मर्कामा परेका छन्।

उपमहानगरपालिकाको योजना शाखामा वडा कार्यालयबाट आएको योजना किन हटाएको भन्दै वडाध्यक्ष सहनीले गत शुक्रबार प्रमुख प्रशासकीय अधिकृत बेल्वासेलाई गालीगलौज गर्नुको साथै ढोका भाँचेको र टेबल उठाएर आक्रमण गरेको प्रमुख प्रशासकीय अधिकृत बेल्वासेले आरोप लगाउनुभएको छ।

वडा वडाध्यक्ष सहनीले भने अधिकृत बेल्वासेसंग सामान्य विवाद भएको तर आक्रमण नभएको बताउनुभएको छ। ‘टेबल ठोकाठोक मात्रै भएको भएको हो,’ अध्यक्ष सहनीले भने–‘हातपात गरेको छैन।’ उपमहानगरपालिकाका मेयर राजेश रायले कर्मचारीमाथि भएको दुव्र्यबहार र सोही बिषयमा कर्मचारीले गरेको आन्दोलनको बारे छलफल गरेर समाधान गरिने तयारी भइरहेको बताउनुभयो।

‘दुबै पक्षलाई छलफलको लागि बोलाइएको थियो’, मेयर यादवले भन्नुभयो–‘वडा अध्यक्ष जी सम्पर्कमा आउनु भएन।’ जनप्रनिधि र कर्मचारीबीचको विवादले कार्यालयको सेवा प्रभावित बनेपछि मेयर यादवले आइतबार दिउसो छलफलको लागि दुबै पक्षलाई कार्यालयमा बोलाउनुभएको थियो। वडा अध्यक्ष सहनी भने विना कुनै जानकारी व्यक्तिगत कामले राजधानी काठमाडौं गएपछि छलफल हुन सकेको छैन।