महिला हिंसाका सवालमा बोल्नैपर्छ : हिसिला

0
Shares

काठमाडौं, (नेस)।‘महिला राजनीतिज्ञसँगको अन्तरक्रिया’ कार्यक्रममा बोल्दै प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले नेतृत्वमा महिलाको संख्यात्मक र गुणात्मक सहभागिता आवश्यक रहेको कुरा औल्याउनुभयो।

उहाँले राजनीतिक, आर्थिक, सामाजिक लगायतका क्षेत्रमा महिला नेतृत्वको सहभागिता बढेकोमा खुशी व्यक्त गर्दै यसलाई निरन्तरता दिँदै प्रतिस्पर्धात्मक रुपमा अघि बढ्न यो संख्याले मात्र नपुग्ने दाबी गर्नुभयो।

सञ्चारिका समूह, निर्वाचन आयोग लगायत संस्थाहरूले आइतबार काठमाडौंमा संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै तुम्बाहाम्फेले सञ्चार माध्यम र राजनीतिज्ञ महिलाहरुले सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

उहाँले सञ्चार माध्यमहरुले महिलाको आवाज उठाउने विषयमा योजना बनाउनुपर्छ र राजनीतिज्ञ महिलाहरुले बिषय केन्द्रित सशक्त आवाज हुनुपर्छ भन्नुभयो।सहकर्मी महिलालाई बलात्कार गरेको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महराको विषयमा राजनीतिक दलका महिला संगठनहरु मौन बनेको विषयलाई जोड्दै महिला राजनीतिज्ञहरुले डटेर लड्नुपर्ने समाजवादी पार्टीकी नेतृ हिसिला यमीले भन्नुभयो– ‘सरकार अप्ठेरोमा पर्ने, अल्पमतमा पर्ने डरले हामी मौन छौ तर महिला हिंसाका सवालमा हामीले बोल्नैपर्छ।’

कार्यक्रममा नेकपाकी सांसद विन्दा पाण्डे, नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले सञ्चारमाध्यमहरुले महिला नेतृहरुलाई समान स्थान दिनुपर्ने कुरामा जोड दिएका थिए। सोही अवसरमा राष्ट्रिय योजना आयोगकी पूर्व सदस्य तथा राष्ट्रिय सभा सदस्य विमला राई पौड्याल, सांसद रामकुमारी झाक्री, अष्टलक्ष्मी शाक्य, कुमारी सुवेदी लगायत महिला सांसदहरुले बोलेका थिए।