राष्ट्रसंघका उपमहासचिव नेपालमा

0
Shares

काठमाडौं, (नेस)।संयुक्त राष्ट्रसंघ जनसङ्ख्या कोष (यूएनएफपीए)का कार्यकारी निर्देशक तथा राष्ट्रसंघ उपमहासचिव डा. नतालिया कनेम नेपाल भ्रमणमा आउनुभएको छ।
यही कात्तिक २६ देखि २८ गतेसम्म केन्याको नौरोबीमा आयोजना हुने जनसंख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आईसीपीडी) को २५औं सम्मेलनमा सरकारको उच्च तहलाई निमन्त्रणा गर्न कनेम नेतृत्वको टोली काठमाडौं आएको हो।

उहाँसँगै यूएनएफपीएका एसिया र प्रशान्तका क्षेत्रीय निर्देशक बियोन एन्डरसन र यूएनएफपीएका चिफ अफ स्टाफ पियो स्मिथ पनि नेपाल आउनुभएको छ। सन् १९९४ मा इजिप्टको राजधानी आईसीपीडी सम्मेलनमा नेपालले जनाएको प्रतिबद्धता तथा सन् २०३० सम्म पूर्ण कार्यान्वयनमा प्रतिबद्धतामा नेपालले गरेका उपलब्धिबारे जानकारी लिन पनि उहाँको भ्रमण केन्द्रित हुने नेपालस्थित राष्ट्रसंघको कार्यालयले जनाएको छ।

‘नेपालले जनाएको आईसीपीडीको प्रतिबद्धतालाई गति प्रदान गर्न उपमहासचिव कनेमसहितको टोली नेपाल भ्रमणमा आएको हो।’ –राष्ट्रसंघको नेपाल कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कायरोमा सम्मेलनपश्चात् नेपालमा परिवार योजना र तालिमप्राप्त स्वास्थ्यकर्मीबाट प्रसूति गराउनेलगायत यौन र प्रजनन स्वास्थ्य सेवाको पहुँचमा उल्लेखनीय वृद्धि भएको सरकारी दाबी छ।
कायरो सम्मेलनमा नेपालसहित विश्वका १ सय ७९ राष्ट्रले हस्ताक्षर गरेका थिए।

‘नेपालले विगत २५ वर्षमा आईसीपीडी कार्ययोजनाअन्तर्गत गम्भीर चुनौतीको बाबजुत पनि अत्यन्तै महत्वपूर्ण पाइला चालेको छ, कार्ययोजनाका अझै बाँकी अधुरा कामलाई तुरुन्तै सम्बोधन गर्ने समय आइसकेको छ।’ –डा. कानेमको भनाइ उद्धृत गर्दै जारी विज्ञप्तिमा भनिएको छ। दुईदिने नेपाल भ्रमणका क्रममा कानेमसहितको टोलीले वरिष्ठ सरकारी अधिकारी, विकास साझेदार र अन्य सरोकारवालासँग भेटवार्ता गर्ने बताइएको छ।