बयानका लागि थपियो पाँच दिन

उजुरीकर्ताले दिइन् न्यायाधीशलाई पत्र

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।यौन हिंसाको अभियोगमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पाँच दिनको म्याद थपी अनुसन्धान गर्न आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको इजलासले आइतबार म्याद थपको आदेश दिएको हो।इजलासले शनिबारबाट लागू हुने गरी पाँच दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न भनेको छ।

महानगरीय प्रहरी वृत्त, सिंहदरबारको आग्रहमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अनुसन्धानका लागि महरालाई थप सात दिन थुनामा राख्न इजलाससमक्ष समय माग गरेको थियो।अदालतले असोज २८ मा अनुसन्धानका लागि महरालाई थप १३ दिन थुनामा राख्न अनुमति दिएको थियो।

प्रहरीले पहिला नै १० दिन थुनामा राखेकाले महरालाई थप तीन दिन थुना राख्न अदालतले अनुमति दिएको थियो।प्रहरीलाई बयान दिन इन्कार गरिरहेपछि आइतबार सरकारी वकिलको कार्यालयमा उपस्थित गराई सात घण्टा लामो बयान लिइएको थियो।

बयानपछि म्याद थपका लागि साँझ अदालत लगिएको थियो। साँझ अबेरसम्म चलेको बहसमा न्यायाधीश सुवेदीको इजलासमा पूर्वसभामुख महराले आफू र शाहीबीच पुरानै चिनजान रहेको दोहोर्याउँदै जबरजस्ती करणीको प्रयास नभएको बताउनुभयो।

उहाँले इजलासमा भन्नुभयो– ‘रोशनीसँग पुरानो चिनजानको सम्बन्ध हो। रोशनी बिमारी छिन् भन्ने जानकारी पाएर त्यहाँ भेट्न गएको हुँ। कुनै जबरजस्ती गरेको छैन।’
उहाँले रोशनीको घरमा घटना घटेको भन्ने समयमा आफू शहरी विकास मन्त्री महम्मद इस्तियाक राईसँग गफ गरिरहेको दाबीसहित बयान दिनुभएको थियो।

इजलास चलिरहँदा साँझ ६ बजे जबरजस्ती करणी प्रयासको आरोप लगाएकी रोशनी शाहीले पूरक निवेदन इजलाससमक्ष दिनुभएको थियो। स्रोतका अनुसार असोज १५ गते प्रहरी वृत्त बानेश्वरमा दिएको निवेदन मिसिल उल्लेख गर्न छुटेकाले उक्त निवेदन मिसिलमा संलग्न गराउन इजलाससमक्ष निवेदन बुझाउनुभएको थियो।

उक्त निवेदनमा आफू डिप्रेसनको बिरामी रहेकाले औषधी खाइरहेको तथा महराबाट बलात्कृत नभएको जिकिर गर्दै प्रहरीले जबरजस्ती उजुरी दिन लगाएको उल्लेख छ।इजलासमा उपस्थित शाहीलाई न्यायाधीश सुवेदीले तपाईंको भनाइ के छ? भनी एउटा मात्रै प्रश्न सोध्नुभएको थियो।

जवाफमा शाहीले मेरो सबै वास्तविक कुरा यसै निवेदनमा उल्लेख रहेकाले इजलासमा आफ्नो भन्नु केही नरहेको भन्दै निवेदन बुझाएर फर्किनुभएको थियो।अदालतले म्याद थपका लागि आदेश दिए पनि महराको मुहार चम्किलो र हँसिलो नै देखिन्थ्यो। महरा यसअघि पनि म्याद थप गर्न अदालत उपस्थित गराइएपछि केहीबेर ठट्टा र हँसिलो मुहारमा देखिनुहुन्थ्यो।