बालबालिकालाई रुघाखोकी र भाइरलबाट जोगाउन डा.ओझाको सुझाव

0
Shares

काठमाडौँ, (नेस)। बाल विकास विशेषज्ञ डा. अनिल ओझाले अहिले मौसम परिवर्तन हुन लागेकाले त्यसको सबैभन्दा बढी संक्रमण बालबालिकामा पर्नसक्ने हुँदा सचेत रहन आव्हान गर्नुभएको छ। नेपाल समाचारपत्र दैनिकसँगको कुराकानीमा उहाँले मौसम परिवर्तनको समयमा रुघाखोकी, भाइरल ज्वरोजस्ता संक्रमण हुने र त्यसले अन्य समस्या ल्याउन सक्ने भएकाले सचेत रहन सुझाव दिनुभएको हो।

रुघाखोकी लामो समयसम्म लागिरहेमा कम उमेरका बच्चाहरूमा निमोनिया र निमोनिया जस्तो लक्षण(घ्यार घ्यार हुने) देखिन सक्ने बताउँदै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका एसोसिएटेट प्रोफेसर समेत रहनुभएका डा.ओझाले भन्नुभयो–‘त्यसले मुटुमा पनि असर पर्नसक्छ भने अलि बढी उमेरका बालबच्चालाई पिनास हुन्छ।’

उहाँका अनुसार रोगसँग लड्ने क्षमता (रोग प्रतिरोधात्मक क्षमता) कम हुने, ठूलो समूहमा घुलमिल भइरहने बालबालिकालाई निरन्तर रुखाखोकी लाग्ने गर्दछ। विभिन्न संक्रमणले रोगसँग लड्ने क्षमता घटाउँदा बालबालिकाहरू बिरामी भइरहन्छन्। कतिपय बच्चामा जन्मजात नै फोक्सोमा खराबी हुने हुँदा निमोनिया समेत हुनसक्छ।

डा.ओझाले बालबालिकालाई यस्ता संक्रमणबाट जोगाउन अभिभावक सचेत बन्नुपर्ने बताउँदै भन्नुभयो–‘सर्वप्रथम सरसफाईमा ध्यान दिनुपर्छ, हात सधैँ सफा गरिरहनुपर्छ। सकेसम्म बालबालिकालाई ठूलो समूहमा लैजानुहुँदैन।’

यस्तै रोग प्रतिरोधात्मक क्षमता बढाउन पोषणयुक्त खाना। भिटामिन खुवाउनुपर्ने र भ्याक्सिन पनि दिन सकिने उहाँको सुझाव छ। साथै डा.ओझाले निमोनिया÷टाइडफाइडविरुद्धको भ्याक्सिन दिनुपर्ने बताउनुभयो।