म्यानमारले नेपाललाई दियो ३० वटा बुद्ध मूर्ति

0
Shares

काठमाडौं, (नेस)। म्यानमारले नेपाललाई भगवान गौतम बुद्धका धातुका ३० वटा मूर्ति प्रदान गरेको छ। म्यानमारको राजधानी ने पि तोस्थित सितागु अन्तर्राष्ट्रिय बौद्ध प्रतिष्ठानले नेपाललाई मूर्ति प्रदान गरेको हो।

म्यानमारको औपचारिक भ्रमणमा रहनु भएकी राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्र शाक्यलाई प्रतिष्ठानका संस्थापक सितागु सायदले मूर्ति हस्तान्तरण गर्नु भएको हो।

सो अवसरमा बोल्दै मन्त्री ज्ञवालीले प्रतिष्ठानको सहयोगले नेपाल र म्यानमार वीचको सम्बन्ध, साझा संस्कृति र दर्शनलाई अझ प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। नेपालले आगामी वर्ष सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने तयारी गरेको अवगत गराउँदै उहाँले भ्रमण वर्षलाई सफल बनाउन म्यानमार सरकार र त्यहाँका जनताको साथ र सहयोग अपरिहार्य रहेको बताउनुभयो।

म्यानमारबाट बार्षिक २५ हजार हाराहारी बौद्धधर्मावालम्बीले बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्दै आएका बताइएको छ।यसैबीच राष्ट्रपति भण्डारीले शनिवार ने पि तोमा अवस्थित श्वेगादोन प्यागोडाको अवलोकन गर्दै त्यहाँ बुद्धपुजा गर्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सोही प्यागोडामा लुम्बिनी विकास कोषले राखेका विभिन्न ३५ चित्र तथा उत्खनन्बाट प्राप्त बुद्ध महाभिनिष्क्रमणको मूर्तिको प्रतिकृति राखिएको छ।

प्रर्दशनीको राष्ट्रपति भण्डारीले शनिवार उद्घाटन गर्नुभयो। सात दिनसम्म चल्ने प्रदर्शनीमा लुम्बिनी, कपिलवस्तु र रामग्रामसँग सम्बन्धित चित्र राखिएका बताइएको छ। शनिवार नै राष्ट्रपति भण्डारीले त्यहाँका क्रान्तिकारी नेताको स्मृतिमा निर्मित आङ सन संग्रहालयको पनि अवलोकन गर्नुभएको छ।