देउवाले कुरा फेरे, दोषीलाई उन्मुक्ति दिन हुँदैन

0
Shares

काठमाडौं, (नेस)।

हत्या आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमको बचाउमा वक्तव्य दिएर आलोचित बनेका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस अनुसन्धानको विपक्षमा नउभिने स्पष्ट पार्नुभएको छ। अघिल्लो दिन शुक्रबार भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा कांग्रेस नेता आलम पक्राउ बारेमा बोल्दै वर्तमान सरकारले कांग्रेसका नेताहरूलाई खोजीखोजी झूटो मुद्दा लगाउन थालेको भन्दै विरोध गर्नुभएको थियो।

उहाँले १२ वर्षअघिको मुद्दालाई लिएर आलममाथि सरकारले अहिले झूटो मुद्दा लगायो भन्दै यतिका वर्ष सरकार के हेरेर बसेको थियो भन्दै प्रश्न गर्नुभएको थियो। कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले स्थानीय तहका निर्वाचित आफ्ना जनप्रतिनिधिलाई दिएको प्रशिक्षण कार्यक्रममा सभापति देउवाले आलमको बचाउमा अभिव्यक्ति दिएलगत्तै सभापति देउवाका साथै सिङ्गो कांग्रेसकै आलोचना भइरहेको छ।

जनस्तरबाट व्यापक आलोचना भएपछि सभापति देउवाले शनिबार सार्वजनिक वक्तव्य जारी गर्दै आफ्नो भनाइको आशय दोषीलाई निर्दोष भनेको नभई बाहिर सत्यतथ्य पत्ता लगाउने कुरामा जोड दिएको बताउनुभयो।

‘कुनै पनि गम्भीर मुद्दामा प्रक्रियागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्वेषण गर्ने कार्यमा बाधा पुग्छ नै’, देउवाले भन्नुभयो– ‘१२ वर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ।’

कानुनी राज्यमा विश्वास गर्ने नेपाली कांग्रेस कोहीमाथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन सक्दैन भन्दै सभापति देउवाले मोहम्मद आफताब आलममाथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्ने कार्यलाई कांग्रेसको सहयोग रहने बताउनुभयो।

‘निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने हाम्रो प्रस्ट मान्यता म सार्वजनिकरूपले प्रस्ट्याउन चाहन्छु।’ –देउवाले भन्नुभएको छ। १२ वर्षअघि भएको बमकाण्डका घाइतेलाई जिउँदै इँटाभट्टामा हालेर सामूहिक हत्या गरेको आरोपमा रौतहट–२ का सांसद आलम पक्राउ परेका छन्।

२०६४ सालको घटनालाई लिएर आलम पक्राउ परेलगत्तै कांग्रेसका प्रभावशाली अन्य नेताहरूले भने यो घटनाको अनुसन्धानमा कांग्रेसको पूर्ण सहयोग रहने भन्दै दोषी जो भए पनि कारबाही हुनुपर्ने प्रतिक्रिया दिएका थिए।

आलम घटनाबारे कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भन्नुभयो– ‘हाम्रो संघर्ष विधिको शासन र दबाबमुक्त कानुनी राज्यका लागि थियो, हो र रहनेछ।’ आलम प्रकरणको अनुसन्धानमा सहजतापूर्वक सघाउनु हाम्रो कर्तव्य हो भन्दै कांग्रेस प्रवक्ता शर्माले भन्नुभयो– ‘स्थापनाकालदेखिको हाम्रो संस्थागत मान्यता कस्तै परिस्थितिमा किमार्थ बदलिन्न।

यही नै हाम्रो स्थायी धारणा, स्थायी विश्वास र स्थायी बाटो पनि हो।’ त्यसै गरी पूर्वमन्त्री तथा कांग्रेस नेता गगनकुमार थापाले जोसुकै होस्, जहाँ भएको होस्, जहिले भएको होस्, जुनसुकै ओहोदामा पुगेकाले गरेको होस्, अपराध गर्नेले दण्ड पाउनुपर्छ भन्नुभयो।

उहाँले दोषीको छिनोफानो अनुसन्धान र न्यायालयले गर्ने र निष्पक्ष छानबिनका लागि सहयोग गर्नु आफ्नो कर्तव्य भएको बताउँदै उहाँले भन्नुभयो– ‘यही हो कांग्रेसको धारणा, बाँकी सबै व्यक्तिगत धारणा हुन्।’