फास्ट ट्र्याक निर्माण: १४६६९ रोपनी जग्गा अधिग्रहण ७९९ रोपनी बाँकी

0
Shares

मधुसूदन रायमाझी, काठमाडौं । राजधानी काठमाडौं र तराई–मधेस जोड्ने दु्रत मार्ग (फास्ट ट्र्याक) निर्माणअन्तर्गत १४ हजार ६ सय ६९ रोपनी जग्गा अधिग्रहणको काम सम्पन्न भएको छ।१५ हजार ४ सय ६८ रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेमा फास्ट ट्र्याकको ७ सय ९९ रोपनी जग्गाको मात्र मुअब्जा दिन बाँकी रहेको छ।

७२ दशमलव ५ किलोमिटरको फास्ट ट्र्याक निर्माणमा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अन्तर्गत २ सय २८ रोपनी जग्गा थप अधिग्रहण गर्नुपर्ने भएको छ।नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जग्गा मुआब्जाको ९५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिँदै बाँकी जग्गाको अधिग्रहण गर्ने प्रक्रिया अगाडि बढिसकेको बताउनुभयो।

खोकना, बुङ्मती, डुकुछाप, महादेवटार, धेत्रे र लेनडाँडामा डीपीआरको रिपोर्टअनुसार २ सय २८ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भएको उहाँले बताउनुभयो। खोकना, बुङ्मती, सिकालीलगायतको क्षेत्रसहित अब ७ सय ९९ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भएको हो।

फास्ट ट्र्याक निर्माण कार्य अघि बढाउन जिल्ला प्र्रशासन कार्यालय ललितपुर, मकवानपुर र ती जिल्लाका मालपोत कार्यालयको जग्गाको स्रेस्ता उतार्ने प्रक्रिया अगाडि बढाइएको । मन्त्रिपरिषद्ले निर्णय गरेपछि ललितपरु र मकवानपुर जिप्रकाले सूचना प्रकाशित गरी मुअब्जा वितरणको काम अगाडि बढाउनेछन्।

डिपिआरको रिपोर्टअनुसार समयसीमाभित्र नै फास्ट ट्रयाक निर्माणको काम सम्पन्न गर्ने गरिने बताउदै प्रवक्ता पाण्डेले ठाउँठाउँमा बेलिब्रिज निर्माण भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार विभिन्न ठाउँमा गरी १२ वटा बेलिब्रिज जडान गरिने भएको छ। नेपाली सेनाले आगामी साढे तीन बर्षभित्र फास्ट ट्रयाक निर्माण गर्ने लक्ष्य लिएको छ।