सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

0
Shares

धनबीर दाहाल,रुकुम । तरकारी बीउ उत्पादन केन्द्र चापा रुकुम पश्चिमले आर्थिक वर्ष २०७५/७६ सालको सार्वजनिक सुनुवाई गरेको छ । केन्द्रले आज एक कार्यक्रमका विच सार्वजनिक सुनुवाई गरेको हो ।

 

केन्द्रले गत आर्थिक वर्ष एक करोड ३९ लाखको बजेट विनियोजित गरेकोमा २९ लाख ९९ हजार उत्पादन खर्च भएको र १३ लाख ८६ हजार ५ सय ९३ राजस्व संकलन भएको बताएको छ । केन्द्रमा उत्पादन बिभिन्न तरकारीका बिउ, धानको विउ तथा अन्य कार्यक्रमबाट राजस्व संकलन भएको बताइएको छ ।

त्यस्तै गत आर्थिक वर्षमा १ हजार ४ सय ५० किलो तरकारीको विउ उत्पादन गर्ने लक्ष्य राखेको केन्द्रले ६ सय १४ किलो तरकारीको मुल विउ उत्पादन गरेको छ । केन्द्रले ३ सय ७९ किलो तरकारीको उन्नत विउ उत्पादन गरेको छ ।

यस्तै केन्द्रले चालु आर्थिक वर्षका कार्यक्रम पनि सार्वजनिक गरेको छ । केन्द्रले चालु आर्थिक वर्षको लागि पुँजिगत तर्फएक करोड ५४ लाख ६० हजार र चालु तर्फ ३ करोड एक लाख ७१ हजार गरि जम्मा ४ करोड ५६ लाख ३१ हजार रकम विनियोजन गरेको छ ।

केन्द्रले चालु आर्थिक वर्षको लागि बिभिन्न निति तथा कार्यक्रम स्वीकृत गरेको छ । केन्द्रले तरकारीको प्रजनन विउ उत्पादन गर्ने लक्ष्य लिएको केन्द्र प्रमुख तथा वरिष्ठ बागवानी विकास अधिकृत किशोरमान श्रेष्ठले बताउनुभयो । केन्द्रले १८.२ किलो प्रजनन् विउ, १६ सय ५० किलो मुल विउ, र ८ सय किलो उन्नत विउ उत्पादन गर्ने लक्ष राखेको छ ।

जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्र प्रमुख श्रेष्ठले केन्द्रको वार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य ठगेन्द्रप्रकाश पुरीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कर्णाली प्रदेश सभा सदस्य गोपाल शर्मा, प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल लगायतको सहभागिता रहेको थियो ।