दाइजो नदिएको निहुँमा महिलाको हत्या

0
Shares

सरोज यादव, विराटनगर।माइतीपक्षले दाइजो नदिएको भन्दै एक महिलाको भारतको जोगवनीमा हत्या भएको छ। विराटनगर–११ पञ्चमुखी चोकका मनिकचन्द सहनीकी २२ वर्षीया छोरी रञ्जुदेवी सहनी (बहरदार)को विराटनगरको सीमा क्षेत्रमा रहेको भारतको जोगवनीमा हत्या भएको हो।

रञ्जुको हत्यापछि भारतको अररिया जिल्लास्थित परवाना नदीको मिरगन्ज पुल नजिकै शवलाई पानीमा डुबाएर राखेको अवस्थामा भेटिएको छ। उनको शव स्थानीयबासीले खोलामा देखेपछि जोगवनी प्रहरीलाई खबर गरेका थिए।

प्रहरीको निर्देशनमा मृतकको शवलाई आफन्तले खोलाबाट निकालेका छन्। शवको पोस्टमार्टमपछि नेपाल नै ल्याएर दाहसंस्कार गरिने मृतकका माइती पक्षले बताएका छन्।हत्यामा संग्लन चार जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ।

जोगवनी प्रहरी थानाका इन्चार्ज अफताब अहमदका अनुसार रञ्जुका श्रीमान् भीम बहरदार, जेठाजु अर्जुन बहरदार, ससुरा सैनी बहरदार, छिमेकी शिवानन्द मुखिया पक्राउ परेका छन्। हत्यामा संलग्न चार जनाविरुद्ध रञ्जुका माइती पक्षले भारतीय प्रहरीसमक्ष ज्यान मुद्दा दर्ता गराएका छन्।

पक्राउ परेका चार जनामाथि थाना कार्ड नम्बर ३०३ र १९ को दफा ३०४ बि, २०१ र भारतीय दण्ड विधान ३४ अन्तर्गत मुद्दा दर्ता भइसकेको जोगवनी प्रहरी थानाले जनाएको छ। गएको फागुनमा भारतको अररिया जिल्ला तकिया निवासी २५ वर्षीय भीम बहरदारसँग रञ्जुदेवीको विवाह भएको थियो।

विवाहपछि बहरदार परिवारले पटक–पक रञ्जुलाई दाइजोको विषयमा मानसिक र शारीरिक यातना दिँदै आएका थिए।दाइजोको दबाबका बीच माइती पक्षले केही समयअगाडि मात्र मोटरसाइकलसमेत किनेर दिएका थिए।

‘हामीले भर्खरै मात्र ९० हजारको मोटरसाइकल किनिदिएका थियौं’, रञ्जुका हजुरबुबा उमालाल सहनीले भन्नुभयो– ’फेरि छोरीका सासू–ससुरा र श्रीमान्ले २ लाख पैसा पसल गर्न भनेर मागे त्यो दिन नसकेपछि यसरी हत्या भएको हो।’ यसअघि पनि छोरीलाई सासू–ससुरा र श्रीमान्ले पटक–पटक दाइजोका लागि यातना दिँदै आएको उमालालले बताउनुभयो।