एमबीबीएसको शुल्क निर्धारण गर्दै आयोग

0
Shares

काठमाडौं, (नेस)। राष्ट्रिय चिकित्सा आयोगका उपाध्यक्ष प्राडा कृष्ण गिरीको संयोजकत्वमा गठित शुल्क निर्धारण समितिको आज सोमबार बस्ने बैठकले यो वर्षको एमबीबीएस तहको शुल्क निर्धारण गर्ने तयारी गरेको छ।

गत चैत ४ मा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको संयोजकत्वमा गठित समितिले गत असोज ४ गते राष्ट्रिय चिकित्सा आयोगका अध्यक्ष एवं प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन पेस गरेको थियो।

समितिको यही असोज १६ गते बसेको बैठकले शुल्क निर्धारण गर्ने निर्णय गरेको थियो। समितिमा राष्ट्रिय योजना आयोगका सदस्य (शिक्षा) उषा झा, नेपाल नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठ, नर्सिङ काउन्सिलका अध्यक्ष गोमा निरौला, निजी मेडिकल कलेज एसोसिएसनका अध्यक्ष बसिरुद्दिन अन्सारी सदस्य रहेको समितिले आज सोमबार शुल्क निर्धारण गर्ने तयारी गरेको छ।

आयोगका सदस्य सचिव डा. हरि लम्सालले आज बस्ने बैठकले शुल्क निर्धारण गर्ने तयारी गरेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘प्रवेश परीक्षामा उत्तीर्ण भई भर्ना हुने प्रतीक्षामा रहेका विद्यार्थीको शुल्क नतोक्दा समस्या परेपछि आजको बैठकले शुल्क निर्धारण गर्न तयारी गरेका हौं।’

लम्सालले समितिले शुल्क निर्धारण गरी आयोगका अध्यक्ष एवं प्रधानमन्त्रीसमक्ष पेस गर्ने जानकारी दिनुभयो। आयोगका उपाध्यक्ष प्राडा गिरीले पनि चाँडै नै शुल्क निर्धारण गर्नुपर्ने भएकाले आज बैठक बसेर निर्णय गर्ने तयारी गरेको बताउनुभयो।

‘अब शुल्क निर्धारण गरेसँगै भर्ना गर्न निजी मेडिकल कलेजलाई आग्रह गर्नेछौं।’ –आयोगका सदस्य सचिव डा. लम्सालले भन्नुभयो। निजी मेडिकल कलेज सञ्चालक र सरकारबीच देखिएको विवाद समाधान गरेर निर्बाधरूपमा पढ्ने वातावरण बनाउन आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न चरणमा वार्ता गरिरहेको छ।