क्लब भिक्ट्रीमा आगलागी हुँदा करोडौं क्षति

0
Shares

काठमाडौं, (नेस)।दरबारमार्गमा रहेको क्लब भिक्ट्रीमा विद्युत् सर्ट भई आगलागी हुँदा करोडौंको क्षति भएको छ। सो भवनको छैटौं तलामा रहेको क्लब भिक्ट्रीमा एक्कासि आगलागी भएपछि भान्छामा रहेको ग्यास सिलिन्डर विस्फोट हुँदा आगोले उग्ररूप लिएको थियो।
राजधानीका विभिन्न स्थानका १० वटा दमकललाई आगो निभाउन ३ घन्टा लागेको थियो।आगलागीमा सामान्य घाइते भएका एक जनालाई उपचारार्थ वीर अस्पतालको ट्रमा सेन्टर पठाइएको महानगरीय प्रहरी वृत्त दरबारमार्गले जानकारी दिएको छ।
आगलागीका कारण सो भवनको तीन तला जलेर पूर्णरूपमा नष्ट भएको छ। नजिकै रहेका अन्य पसल क्लबमा पनि क्षति पुगेको छ। आगलागी नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयवासी तथा अग्नि नियन्त्रकको ठूलो टोली खटिएको थियो।
सोही क्लबमा यसअघि पनि आगलागी भएको थियो। दरबारमार्ग इलाका वरिपरि मापदण्डविपरीत थपिएका अस्थायी संरचनाका कारण यस प्रकारको आगलागी हुने गरेको प्रहरीले बताएको छ।
नजिकै रहेका दुईवटा तारे होटल याक एन्ड यती र अन्नपूर्णमा रहेका विदेशी पर्यटक तथा पाहुना आत्तिएर बाहिर निस्केका थिए। आगलागी भएको स्थानमा मानिसको अत्यधिक भीडका कारण नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो।