कहिले बन्ला त्रिवेणीको पक्की पुल

0
Shares

नेपाल समाचारपत्र, प्युठान।ऐरावती गाउँपालिका–५ मा रहेको द्वारेघाटदेखि गोठिबाङ जोड्ने त्रिवेणी पक्की पुल अलपत्र परेको छ। ठेकेदार कम्पनीको लापरबाहीले ३ वर्षदेखि पुल निर्माणको काम अलपत्र परेको हो।

स्थानीय कृष्ण राउतले ठेकेदार कम्पनीले काम नगर्दा पुल निर्माणमा ढिलाइ भएको बताउनुभयो। पुल नबन्दा यहाँका स्थानीय समस्यामा परेको उहाँले बताउनुभयो। २०७४ फागुन १५ गतेभित्र पुल निर्माण गरिसक्ने गरी व्रजगुरु कन्ट्रक्सन प्रालिले ठेक्का पाएको थियो।

कम्पनीले ७ करोड ५५ लाखमा पुलको ठेक्का लिएको हो। २०७३ असार ३० गते भएको सम्झौताअनुसार पुलको लम्बाइ ८० मिटर हुने भनिएको थियो।

अहिलेसम्म तीनवटा पिल्लर मात्र उठाएको छ। असारदेखि पुल निर्माण कार्य रोकिएको छ। निमार्णका लागि पर्याप्त मात्रामा समान भए पनि काम सम्पन्न नभएको धनेश्वर बुढाले बताउनुभयो।

पुल निर्माण गर्दा पुलको बीच भागमा चट्टान भेटिएकाले काममा ढिलाइ भएको प्रालिका प्रतिनिधि श्रीधर बीसीले जानकारी दिनुभयो।

‘निर्माणको म्याद सकिएको छ’, बीसीले भन्नुभयो– ‘म्याद थपिनेबित्तिकै काम शुरू गर्छौं।’ म्याद थप नभएका कारण थप रकम पाउन नसकेको उहाँले बताउनुभयो।

म्याद थप भएमा आउँदो असारसम्ममा काम सकिने उहाँको भनाइ छ। उहाँले पुल निर्माणका लागि २ करोड रकम भुक्तानी लिइसकेको पनि जानकारी दिनुभयो।

पुल बन्छ र आवतजावतमा सजिलो हुन्छ भनेर आशमा बसेका स्थानीय पुलका पिलर हेर्दै झोलुङेपुलको जोखिमपूर्ण यात्राबाट नदी पार गरिरहेका छन्। पक्की पुल बन्न लागेको ठाउँनजिकै झोलुङे पुल भए पनि जीर्ण अवस्थामा छ।

पुल बांगिएको र बीचबीचमा प्वाल हुँदा ज्यान हत्केलामा राखेर पुल तर्नुपर्ने बाध्यता रहेको स्थानीय एवं ऐरावती गाउँपालिकाका प्रवक्ता दामु विकले बताउनुभयो।