प्राविधिक शिक्षालय सञ्चालनमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। देश नम्बर ३ का मुख्य मन्त्री डोरमणि पौडेल र जर्मन संघीय मन्त्रालयका आर्थिक विकास तथा सहयोगका लागि संसदीय उपमन्त्री नोर्वेर्ट वाथ्र्लेले धुनिवेशी नगरपालिका ५ मा निर्माण भएको जर्मन प्राविधिक शिक्षालयको हालै संयुक्तरूपमा उद्घाटन गर्नुभएको छ।

उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले गरेको कामलाई सूक्ष्म ढंगले हेर्ने हो भने धेरै काम भएको अनुभूति गर्न सकिने दाबी गर्नुभयो। उहाँले भोलिका दिनमा प्रदेश सरकारले जनताको हकहितका लागि धेरै काम गरेर देखाउनुपर्ने बेला आएको बताउनुभयो।

समृद्ध नेपाल र सुखी नेपाली सबै नेपालीको नारा भएको भन्दै मुख्यमन्त्री पौडेलले राष्ट्रनिर्माणमा सबै एकजुट हुनुपर्ने बताउनुभयो। उहाँले देशमा रोजगारी सिर्जना नहुँदा धेरै नेपाली वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता रहेको बताउँदै प्राविधिक शिक्षालाई देशव्यापीरूपमा लगेर विदेश जाने बाध्यताबाट मुक्त गर्न प्रदेश सरकार लागेको बताउनुभयो।

कार्यक्रमका विशिष्ट अतिथि नोर्वेर्टले नेपालको प्राविधिक शिक्षामा जर्मन सरकारको तर्फबाट सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले नेपाली जनताको विकासका लागि यस्ता सहयोग निरन्तर हुने बताउनुभयो।

जलस्रोतको उपयोग गरी ऊर्जाका क्षेत्रमा उन्नति गर्न सकिने वातावरण भएर पनि नेपाल अझै अन्धकारमा बस्नुपर्ने परिस्थितिप्रति उहाँले दुःख व्यक्त गर्नुभयो।

उहाँले त्यस्तो अवस्थाको अन्त्यका लागि प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो। शेषकान्त फाउन्डेसनद्वारा धुनिबेशी नगरपालिकामा निर्माण गरिएको जर्मन प्राविधिक शिक्षालयको उद्घाटन कार्यक्रममा ऊर्जा क्षेत्रमा आवश्यक व्यावसायिक र दक्ष जनशक्ति उत्पादनमा योगदान पुग्ने विश्वास गरिएको छ।

जर्मन एनजीओ चुकुम्फ्ट फर नेपाल अस्टुर्टेम्बर्ग (जेडएफएन)सँगको सहकार्यमा जर्मन सरकारका तर्फबाट केएफडब्लयू डीईजी, हाइड्रो कम्पनी भ्वोइथलगायत विभिन्न संघसंस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा प्राविधिक तथा व्यावसायिक शिक्षा दिने उद्देश्यले उक्त शिक्षालय स्थापना भएको हो।

जर्मनका उद्योग तथा व्यवसायका क्षेत्रमा उपयोगी मानिएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (टीभीईटी) लाई नेपालमा पहिलोपटक भित्र्याउने लक्ष्यका साथ जर्मन प्राविधिक शिक्षालयको स्थापना गरिएको हो।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट पहिलो चरणमा छोटो अवधिका तालिम सञ्चालनका लागि सम्बन्धन लिएको फाउन्डेशनले छिट्टै नै लामो अवधिका तालिम सञ्चालन गर्ने लक्ष्य राखेको संस्थाका सचिव ऋषिराम ढकालले बताउनुभयो।

शिक्षालय उद्घाटनसँगै छोटो अवधिको सहायक वेल्डरको कक्षा सञ्चालनमा आइसकेको छ भने डिप्लोमा तहको इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स तथा हाइड्रोपावर मेन्टेनेन्स तालिम सञ्चालन गर्ने लक्ष्य शिक्षालयले लिएको छ।फाउन्डेशनले युवा लक्षित कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएको सचिव ढकालले बताउनुभयो।

२०७२ को भूकम्पपीडित जनतालाई राहतका सामग्री वितरण गरी समाजसेवाका क्षेत्रमा सक्रियताका साथ अगाडि बढेको संस्थाले तात्कालीन अवस्थामा बालबालिकालाई विद्यालय जान सहयोग पुर्याउने उद्देश्यले शैक्षिक सामग्री तथा पोसाक वितरण गरेको थियो।

दीर्घकालीन रूपमा उपयोगी हुने सीप सिकाइमा युवा वर्गको संलग्नता उपयोगी हुने अपेक्षाका साथ जर्मन प्राविधिक शिक्षालयको स्थापना गरिएको हो।

फाउन्डेशनका अध्यक्ष विश्वेश्वरप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा जनप्रतिनिधि, सरकारी कर्मचारी, नेपाल तथा जर्मनका विभिन्न संघसंस्थाका प्रतिनिधिलगायत स्थानीय जनताको सहभागिता रहेको थियो।