जीप दुर्घटनामा एकको मृत्यु, चार जना घाइते 


न्युज अफ नेपाल, नवलपरासी ।

नवलपरासीको पहाडी क्षेत्र बुलिङटार गाउँपालिकामा यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि नवलपरासी देवचुली नगरपालिका–४ बस्ने २७ वर्षीय हरि अधिकारी क्षेत्रीको मृत्यु भएको छ । दुर्घटनामा परी चार जना घाइते भएका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका क्षेत्रीको उपचारको क्रममा पोखरा मनिपाल कलेजमा शुक्रबार राति मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी देवचुली–१०, बस्ने २७ वर्षीय आशिस खनाल, सोही स्थान बस्ने १९ वर्षीय सूचना पाण्डे, देवचुली–१, बस्ने ३० वर्षीय पवन तिवारी र २४ वर्षीया सङ्गीता पोखे्रल घाइते हुनुभएको छ । घाइते चारै जनाको नारायणी सामुदायिक अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

निरन्दीखोलाको उकालोमा जीपले लोड तान्न नसकेपछि दुर्घटनामा परेको हो । जीपमा करीब १७ जना सवार रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार साँझ पाल्पाको रामपुरबाट नवलपरासीको दलदलेका लागि छुटेको ग १ ज ६५ ०५ नम्बरको जीप बुलिङटार गाउँपालिका–६, स्थित निरन्दीखोलामा दुर्घटना भएको हो ।