वडा अध्यक्षलाई अपहरणको प्रयास

फुटबलको विवादमा अध्यक्ष माथी गोली प्रहार


मोतीराम तिमल्सिना, काभ्रे ।

विप्लव समुहका कार्यकर्ता बताउँदै घरमै सुतिरहेका वडा अध्यक्षको अपहरण प्रयास भएको छ । दशैको अघिल्लो राति सवा १० बजे रोशी गाँउपालिका वडा नम्वर ३ का अध्यक्ष धनजित लामाको अपहरण प्रयास भएको हो ।

‘म सुतिरहेको थिएँ, एक्कासी मेरो घरमा दुई जना ब्यक्ति ढोका खोल्न लगाउँदैै प्रवेश गरे । उनिहरुले आफु विप्लव समुहको कार्यकर्ता भएकाले वडा कार्यालयमा आगजनी गर्ने र गाउँपालिकाबाट सञ्चालित योजनाहरुमा भ्रष्टाचार गरेकाले अनुसन्धान गर्नु परेकाले सँगै जान दबाब दिए’–अध्यक्ष धनजित लामाले भन्नुभयो–‘धेरै पटक मैले अनुनय विनय गर्दै रातको समयमा घरबाट फर्कन र अनियमितता भएको पुष्टी भए कानुन अनुसार कारवाही गर्न अनुरोध गरें । उनिहरुले उल्टै आफ्नै क्षेत्रमा लगेर अनुसन्धान गर्नु पर्ने भन्दै रातको समयमा सँगै जान दबाब दिए ।’ वडा अध्यक्ष धनजितले नमानेपछि उनिहरुले धम्कि दिए । उनिहरुले बाबुलाई धम्कि दिए पछि छोरी एलिसा लामाले प्रतिकार गर्दै गुहार मागेकी थिईन् । उनले स्थानीयलाई गुहार मागे सँगै उनिहरु फरार भएका थिए । उनिहरु कुन समुहका हुन् पुष्टि भईसकेको छैन ।

विप्लव समुहमा सक्रिय स्थानीय पोते लामा र कृष्णबहादुर मगर अपहरणको प्रयासमा संलग्न भएको वडा अध्यक्ष धनजित लामाले बताउनु भयो । राति अपहरणको प्रयास भए सँगै धनजितले प्रहरी चौकी खहरेपाँगुमा उजुरी दिएका थिए । प्रहरीकोमा उजुरी परेसँगै प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको खहरेपाँगु प्रहरी चौकी इन्चार्ज असई सुवास बैठाले जानकारी दिनुभयो ।

वडा अध्यक्षलाई गोली प्रहार
रोशी गाउँपालिका वडा नं. ११ का वडा अध्यक्ष मिलन लामा माथि गोली प्रहार भएको छ । फूटवल प्रतियोगिताको बारेमा विवाद हुँदा वडा अध्यक्ष लामाकै आफन्त अनुपबुद्ध लामाले गोली प्रहार गरेका हुन् ।

छलफलकै क्रममा सामान्य विवाद भए लगत्तै पेस्तोल निकालेर अनुपबुद्धले वडा अध्यक्ष लामालाई ताकेपछि लामाले छल्दा गोली भित्तामा लागेको थियो । ईलाका प्रहरी कार्यालय, मंगलटारका प्रमुख प्रहरी निरिक्षक धर्मजंग थिङले घटनाको बारेमा जानकारी दिदै पेस्तोल प्रहार गर्ने अनुपबुद्धको खोजी भईरहेको जानकारी दिए । ‘फूटबल प्रतियोगिता र क्लबको विषयमा राती अबेरसम्म छलफल गर्दै गर्दा विवाद भएको रहेछ । त्यहीं निहुँमा पेस्तोल निकालेर अनुपबुद्ध लामाले हानेको गोली भित्तामा लाग्यो र वडा अध्यक्षलाई केहि हुन पाएन ।

‘गोली लागेको स्थानमा खल्डो पनि छ । गोलीको खोका पनि भेटिएको छ’–प्रहरी निरिक्षक थिङ्गले भन्नुभयो । अनुपले प्रयोग गरेको पेस्तोल कुन हो ? गोलीको ल्याब टेस्ट गरेर मात्र पत्ता लाग्ने थिङले बताउनु भयो । अष्टमीको राति भएको घटनामा संलग्नलाई प्रहरीले खोजी गरिरहेको भए पनि पक्राउ गर्न सकेको छैन ।