चीनका राष्ट्रपति सी जिनपिङ भारत र नेपालको भ्रमणका लागि निस्किए

राष्ट्रपति जिनपिङको स्वागतका लागि काठमाण्डौका सडक झकिझकाउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

चीनका राष्ट्रपति सी जिनपिङ शुक्रबार भारत र नेपालको भ्रमणका लागि बेइजिङबाट निस्किएका छन् । उनको शुक्रबार र शनिबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुईपक्षीय अनौपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ भने शनिबार नै उनी नेपाल आउने कार्यक्रम रहेको छ ।

जिनपिङ चीनबाट भारतका लागि निस्किसकेको चिनियाँ सञ्चार माध्यमले सार्वजनिक गरिसकेका छन् । सी र मोदीबीच भारतको महाबलीपुरममा अनौपचारिक भेटवार्ताको कार्यक्रम रहेको छ । उनी भोलि अपरान्ह नेपाल आइपुग्ने कार्यतालिका रहेको छ । नेपाल र चीनबीच समझदारीका लागि रेल, सडक, ऊर्जा लगायतका थुप्रै विषय प्रस्तावित भए पनि अन्तिम निष्कर्ष निस्कन अझै बाँकी रहेको स्रोतहरुले बताएका छन् ।

नेपालमा पनि चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि काठमाण्डौका सडक झकिझकाउ पारिएको छ । सरकारले काठमाण्डौका विभिन्न ठाउँका सडक स्तरोन्नति गरेकोे छ । भ्रमणलाई लक्षित गरेर झण्डै ३० किलोमिटर सडकमा निर्माण र मर्मत गरेको हो ।

दशैँ तिहारका समयमा बर्सेनि सडक सुधारका काम गरिँदै आएको भए पनि चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लक्षित गर्दै थप काम भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

चिनियाँ राष्ट्रपति सी सवार हुने सडकहरू नयाँ कालोपत्रेसहित चिल्लो बनाइएको छ । ठाउँठाउँमा नेपालको प्राकृतिक सुन्दरता झल्कने तस्वीर र ब्यानर राखिएको छ । सम्भावित क्षेत्र र चोकमा नियमित सुरक्षा गस्ती बढाइएको छ ।

ठाउँठाउमा स्वागतद्वार बनाउने, सडक पुनःनिर्माणलाई तीव्रता दिने पार्कश आकर्षित गर्ने फूलका बिरुवा सार्ने तथा रङरोगन गर्ने काम तीव्र रूपमा भइरहेको छ । विभिन्न स्थानमा विश्वसम्पदा सूचीमा सूचीकृत र नेपालमा मौलिक संस्कृति झल्कने तस्बिर सहितको फ्लेक्स बनाएर राखिएको छ ।

राष्ट्रपति सीलाई नागरिकस्तरबाटसमेत भव्य स्वागतको तयारी छ ।चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिवसीय राजकीय भ्रमणको सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको छ । अति विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७० अनुसार चारवटै सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको हो ।

आवश्यक तयारीको सिलसिलामा दैनिक सुरक्षा समन्वयात्मक छलफल चलिरहेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति कार्यालयसम्म र बस्ने होटलसम्मको आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार चिनियाँ राष्ट्रपति सी  एक सयभन्दा बढी चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार दिउसो ४ बजेतिर काठमाडौं आउने छन्।

चिनियाँ राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली दुवै जानेछन्। सीलाई सोल्टी होटलमा राखिने छ।

स्रोतकाअनुसार चिनियाँ राष्ट्रपति सी र राष्ट्रपति भण्डारीबीच शनिबार नै भेटवार्ता हुनेछ। त्यसपछि सी राष्ट्रपति भण्डारीले उनको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने जनाइएको छ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीको उपस्थितीमा नेपाल–चीन उच्चस्तरीय बैठक बस्नेछ। बैठकपछि ओली र सीको उपस्थिीतीमा आधा दर्जनबढी सम्झौता तथा समझदारीपत्र (एमओयु) मा दुई देशका सम्बन्धीत अधिकारीले हस्ताक्षर गर्ने कार्यक्रम छ।