सुँगुरको मासु खाँदा दुई कैदीको मृत्यु, दुईजना गम्भीर


न्युज अफ नेपाल, पाँचथर ।

सुँगुरको मासु खाँदा जिल्ला कारागार पाँचथरका दुई कैदीको मृत्यु भएको छ । दुईजना बिरामी भएका छन् । मृत्यु हुनेमा पाँचथरको फालेलुङ गाउँपालिका–८, याङनामका २५ वर्षीय वुद्धि केरुङ रहेका पाँचथर प्रहरीले जनाएको छ । आइतबार राति सुँगुरको मासु खाएर बिरामी परेका उनलाई सोमबार बिहान जिल्ला अस्पताल पाँचथरमा भर्ना गरिएको थियो ।

फिदिम नगरपालिका–१०, याङनामका अन्दाजी ३३/३४ वर्षका जयप्रकाश जवेगुको पाँचथर अस्पतालमा उपचार हुन नसकेपछि झापातर्फ लाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै मासु खाएर कुम्मायक गाउँपालिकाका अन्दाजी २९/३० वर्षका दिनेश खजुम र जिल्लाको साविक सिदिन गाविसका सुन्दर राई पनि बिरामी परेका छन् । उनीहरुको अवस्था पनि गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । उनीहरुको बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दशैँको अवसरमा उनीहरुले आइतबार कारागारभित्रै सुँगुर ल्याएर काटेको र मासु खाएको प्रहरीको भनाइ छ । शुरुमा झाडापखाला लागेपछि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।