वज्रवाराहीमा भक्तजनको भीड 


न्युज अफ नेपाल,ललितपुर ।

गोदावरी नगरपालिका–११ मा अवस्थित देवी वज्रवाराहीको मन्दिरमा भक्तजनको ठूलो भीड लागेको छ । दशैँको नौरथा शुरु भएसँगै यहाँ भक्तजनको घुइँचो बढेको हो ।

सो मन्दिरमा बिहान, दिउँसो र साँझ तीनै समय दर्शनका लागि उपत्यकाको तीनै जिल्लाबाट भक्तजन उपस्थित हुने गरेका मन्दिरको सहायक पुजारी रमेश पुजारीले जानकारी दिनुभयो । “यहाँ बाह्रै महीना ब्राहकाल नै दर्शनका लागि भक्तजन उपस्थित हुने गरेका छन्”, पुजारीले भन्नुभयो, “यस मन्दिरको महिमा जान्ने घरमा गाई र भैँसी पालेका मानिस टाढाटाढाबाट दूध चढाउन धाएर आउने गरेका छन् ।” यो नेपालमा गजुर नभएको एक मात्र पुरानो मन्दिर हो ।

वज्रवाराही मन्दिरमा शनिबार दुईदेखि तीन सय बालबालिका, युवायुवती, वृद्धवृद्धा धुम्न र दर्शन गर्न आउने गरेका नगरपालिका–१३ का श्याम देशारले बताउनुभयो । “मङ्गलबार डेढ सयदेखि दुई सय मानिस यहाँ आउने गरेका छन्”, देशारले भन्नुभयो, “यस मन्दिरको वनमा कात्तिकदेखि फागुनसम्म चार महीना वनभोज खान दैनिक तीनदेखि चार सय मानिस आउने गरेका छन् ।” वज्रवाराही देवी काठमाडाँै उपत्यकाको पुरानो मन्दिर हो ।

फूलपाती, अष्टमी, नवमी र विजयादशीका दिन यस मन्दिरमा भक्तजनको बाक्लो उपस्थितीले खुट्टा टेक्ने ठाउँ नहुने नगरपालिका–११ का बासिन्दा किशोर महर्जनले जानकारी दिनुभयो । “परापूर्वकालदेखि पाटनको च्यासल निवासी नेवारहरुले बडादशैँको दिन यस मन्दिरमा आएर पूजा गर्ने चलन रहेको छ”, महर्जनले भन्नुभयो, “गोदावरीको थेचोलगायत ललितपुर महानगरपालिका सुनाकोठी र च्यासलका मानिस गरी टीकाको दिन मन्दिरमा पाँचदेखि सात हजार दर्शनार्थी आउने गरेका छन् ।” वज्रवाराही माईलाई दूध र पीठोबाट निर्मित वस्तु बढी नै मन पर्ने भएका कारण बढी भक्तजनले नैवेदका रुपमा सो वस्तु चढाउने गरेका छन् ।

वनभोज गर्न चाहने व्यक्तिले १० देखि १५ दिनअघि बाट ज्योतिदय सङ्घमा सम्पर्क गरेर टिकट काट्नुपर्ने हुन्छ । वनभोजबाट उठेको सो रकमलाई सङ्घले मन्दिर व्यवस्थापनलगायत वन संरक्षण र रेखदेखमा खर्च गर्ने जानकारीे दिएको छ । मन्दिरमा पर्व नपरेका बेला दैनिक पाँचदेखि सात सय र पर्व परेका समयमा धेरै रकम उठ्ने गरेको पुजारी बताउँछन् ।

वज्रवाराही माताको मन्दिर २४आँैँ घण्टा खुल्ने गरेको छ । मन्दिर एक्लै छाड्नु हुन्न भनी पालो परेका पुजारी मन्दिर नजीकैको सत्तलमा सुत्ने र बस्ने गरेका छन् । सो मन्दिरमा दैनिक १६ थरीको भजनकीर्तन गरिने वज्रवाराही माई नित्य भजन मण्डलका अध्यक्ष पूर्ण देशारले जानकारी दिनुभयो ।

रासस