प्रधानमन्त्री ओली झापा जाँदै, आजै काठमाडौं फर्किने


न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) गृह जिल्ला झापा जाँदै छन्।

आज महानवमीका दिन झापाको दमकमा आयोजना हुने शुभकामना तथा चियापान कार्यक्रममा ओली सहभागी हुन जान लाग्नुभएको हो ।
२५ वर्षदेखि हरेक वर्ष नवमीका दिन प्रधानमन्त्री ओलीले आफ्नै खर्चमा यस्तो कार्यक्रम गर्दै आइरहेका छन्। यसअघि लगातार बिर्तामोडमा आयोजना गरिएको यो कार्यक्रम यस वर्ष पहिलोपटक गृह नगर दमकमा आयोजना गरिएको बताइएको छ।

प्रधानमन्त्री ओली आज मध्याह्न १२ बजे कार्यक्रमस्थल दमक–८ मा रहेको एक पार्टी प्यालेसमा पुग्ने कार्यक्रम रहेको नेकपाका एक नेताले जानकारी दिएका छन्।

कार्यक्रममा एक हजार जना उपस्थित हुने अपेक्षा छ। पार्टीका नेता कार्यकर्ता, संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूलाई समेत प्रधानमन्त्रीले निमन्त्रणा गरेको स्थानीय आयोजकले जनाएका छ।

सुरक्षा स्रोतका अनुसार ओली भद्रपुर विमानस्थल उत्रेर कार्यक्रमस्थल पुग्नेछन्। ओली आजै काठमाडौं फर्किने कार्यक्रम
रहेको छ।