दशैं नजिकिँदै गर्दा सदरमुकाम सुनसान


कालीबहादुर मल्ल, कालिकोट ।

हिन्दुहरुको महान चाड बिजया दशमी नजिकिँदै गर्दा कालिकोट जिल्लाको सदरमुकाम मान्म बजार सुनसान भएको छ । दिन प्रतिदिन होटेल पसल वन्द गरेर दशैं मनाउन आ–आफ्नो घरतिर लागेपछि सदरमुकाम मान्म खाँडाचक्र बजार सुनसान भएको हो ।

सदरमुकाम रहेको बजारमा किनमेल गर्नेको संख्या पनि पातलिँदै गएको कालिकोट उद्योग बाणिज्य संघका महाँसचिव तिलवहादुर शाही वताउनु हुन्छ ।

उहाँका अनुसार आइतबारदेखि मानन्म खाँडाचक्र बजारको भीडभाड निकै कम हुँदै गएको छ । सदरमुकाममा अन्य जिल्लावाट व्यापार गर्न आएका देखि बिभिन्न कार्यालय, सघं संस्थामा जागिर खानेहरु समेत घर फर्किन थालेका छन् । आइतबारदेखि सार्वजनिक बिदा समेत भएकाले बजार सुनसान बन्न थालेकोे हो ।

दसैंको बेला बजार सुनसान हुने भएकाले बजारमा बस्नै मन नलाग्ने होटेल व्यवसायीको भनाई छ ।

अहिले गाउँघर तिरबाट आउने गाडीहरुमा खसि बोकेर शहर बजार फर्किन थालेका छन् । शहर बजारबाट भने भरिभराउ यात्रु बोकेर सवारी साधन गाउँ तर्फ लाग्ने गरेका छन् । दोहोरो यात्रु नभए पछि सवारी धनी र चालकहरुले दोहोरो भाँडा लिने गरेका छन् ।

महंगो भाडाँ तिर्दा समेत सवारी नपाउने समस्या चरम बन्दै गए पछि नागरिकले चुपचाप पैसा तिरेर यात्रा गर्न बाध्य भएका छन् ।