काभ्रे पलान्चोक भगवती मन्दिरमा रास्ट्रपति भन्डारीद्वारा पुजा अर्चना


मोतीराम तिमल्सिना, काभ्रे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जिल्लाको पाँचखाल नगरपालिका वडा नम्वर ९ मा रहेको पलाञ्चोक भगवती मन्दिरमा पुजा अर्चना गर्नु भएको छ । राष्ट्रपति भए पछि लगातार तेश्रो पटक राष्ट्रपति भण्डारी पाँचखालको पलाञ्चोक भगवती मन्दिरमा अष्टमीको दिनमा पुजा अर्चनाका लागि आउने गर्नु भएको छ ।

पलाञ्चोक भगवती मन्दिरमा देशका विभिन्न क्षेत्रबाट दशै लगायत अन्य दिनहरुमा भक्तालुहरु आउने गरेका छन् । राष्ट्रपति भण्डारी विहान १० बजे मन्दिर परिसरमा प्रवेश गरी मन्दिरमा नियमित पुजा सकिए लगत्तै निम पुजा गरी राजधानी फर्कनु भएको थियो । २६ मिनेट मन्दिर परिसरमा रहनु भएकी राष्ट्रपति भण्डारीले १३ मिनेट मन्दिरमा पुजा अर्चना गर्नु भयो । पुजा अर्चना लगत्तै स्थानीयहरुसँग सामुहिक तस्विर खिचाउनु भयो । पाँचखाल नगरपालिकाको तर्फबाट कार्यवाहक मेयर लक्ष्मी दनुवारले राष्ट्रपति भण्डारीलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।

राष्ट्रपति भण्डारीलाई स्वागत गर्न जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, उपप्रमुख मञ्जु गौतम, धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, पाँचखाल नगरपालिका उपप्रमुख लक्ष्मी दनुवार, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, वडा अध्यक्षहरु, सुरक्षा निकायका प्रमुखहरु, स्थानीयहरुको सहभागिता रहेको थियो । राष्ट्रपति भण्डारीलाई मायाको चिनो दिदै स्थानीयहरुले मन्दिरको विकासमा सहयोग गर्न आग्रह गरेका थिए । राष्ट्रपति भण्डारीले मन्दिरको विकाससँगै अन्य क्षेत्रमा पनि सरकारले ध्यान दिईरहेको बताउनु भयो ।

राष्ट्रपति भण्डारी पाँचखाल स्थित बिरेन्द शान्ति तालिम केन्द्र सम्म हेलिकप्टरमा आउनु भएको थियो भने तालिम केन्द्रबाट १० किमि टाढा रहेको पलाञ्चोक भगवती मन्दिरसम्म गाडीमा जानु भएकोे थियो । राष्ट्रपतिसँगै रास्ट्रपति कार्यालयका सचिब डाक्टर हरि पौडेल, जेठि छोरी उसाकिरण अधिकारी र स्वकीय सचिब जीवछ शाह र भवानी कार्की लगायत सहभागि थिए ।