विप्लव समूहका मोरङ जिल्ला सेक्रेटरी पक्राउ

मोरङ प्रहरीको अप्रेशन,४३ वटा जिलेटिन नियन्त्रणमा


सरोज यादव, मोरङ ।

मोरङ प्रहरीले बम बनाउनका लागि लुकाएर राखेको बिष्फोटक पदार्थसहित विप्लव मओवादीका मोरङ सेक्रेटरीसहित दुईजनालाई नियन्त्रणमा लिइएको छ । मोरङ प्रहरीले आज विराटनगरमा पत्रकार सम्मेलनगरि विप्लव माओवादीका मोरङ सेक्रेटरी कुमार खतिवडा तथा वालकुमार डांगीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएपछि मोरङको बुढीगंगा गाँउपालिका–७ बाट बिष्फोटक पदार्थ बरामद गरेको छ । मोरङको बुढीगंगा गाउँपालिका ३ का स्थायीवासी खतिवडालाई विराटनगर–४ बाट नियन्त्रणमा लिइएको थियो ।

प्रहरीले उनकै सूचनाका आधारमा ४३ थान जिलेटिन बरामद गरेको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो । खतिवडाले बुढीगंगा गाउँपालिका–७ का बालकुमार डाँगीलाई बिष्फोटक पदार्थ लुकाएर राख्ने जिम्मेवारी दिएका थिए । प्रहरी अनुसन्धानमा डाँगीसमेत संलग्न रहेको खुलेपछि उनलाई पनि नियन्त्रणमा लिइएको हो ।

डाँगीले केराघारीभित्र माटो मुनी गाडेर निओजेल ९० लेखिएको जिलेटिन, एरियलसहितको सेतो रिमोट एकथान, तार जोडिएको बक्स एकथान, रातो टेप र तारसहितको डेटकर्ड, केप, मसिनो तार राखेको भेटिएको थियो ।

मोरङका प्रहरी उपरीक्षक अधिकारीका अनुसार झण्डै एक हजार सुतली बम बनाउन सकिने बिष्फोटक पदार्थ लुकाएर राखिएको अवस्थामा फेला पारिएको हो ।