नागरिक सहजताको लागि दशैंका ३ दिनसम्म नेपाल प्रहरीले नि:शुल्क बस सेवा संचालन गर्ने


न्युज अफ नेपाल, काठमाडौं ।

हिन्दुहरुको महान चाड विजया दशमी २०७६ को अवसरमा नागरिक सहजताको लागि असोज १९, २० र २१ गते गरी ३ दिनका लागि नेपाल प्रहरीले काठमाडौं उपत्यकाभित्र विभिन्न २ रुटमा नि:शुल्क बस सेवा संचालन गर्ने भएको छ ।

नि:शुल्क बस सेवा अन्तर्गत रुट नम्बर १ मा संचालन गरिने बस नक्साल, पुतलीसडक, माइतीघर, कुपण्डोल, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, नागस्थान, रत्नपार्क र दरबारमार्ग हुँदै पुन: नक्साल फिर्ता हुने छ ।

त्यस्तै रुट नम्बर २ मा संचालन गरिने बस नक्साल, मैतिदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माईतीघर, त्रिपुरेश्वर, नागस्थान, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक, बालुवाटार हुँदै पुन: नक्साल फिर्ता हुने छ ।

नागरिकलाई आवागमनमा सजिलोका लागि विजय दशमीको अष्टमी, नवमी र दशमीका दिन संचालन गरिएका दुई वटै रुटका बसहरुले बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म तोकिएको रुटमा निरन्तर सेवा प्रदान गर्ने छन् ।