राष्ट्रपति सी जिनपिङको स्वागत तयारी तीव्र


न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल भ्रमणका लागि आउन लागेका चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागत तयारी तीव्र पारिएको छ । सरकारले राष्ट्रपति सीको भ्रमणका लागि सुरक्षा व्यवस्था चुस्त पार्न सुरक्षा निकायलाई निर्देशन दिएको छ भने अन्य व्यवस्थापकीय तयारी पनि धमाधम भइरहेको छ ।

चिनियाँ राष्ट्रपति सी दसैँलगत्तै नेपाल भ्रमणमा आउने पक्का भइसकेको भए पनि उनको भ्रमणतालिका भने सरकारले सार्वजनिक गरेको छैन । राष्ट्रपति सी असोज २७ गते सम्म काठमाडौँ आइपुग्ने सम्भावना छ । उनको स्वागतका लागि सबै किसिमको तयारीमा सरकार जुटेको छ ।

काठमाडौँका सडकहरु रातारात कालोपत्रे भइरहेका छन् । सडक र सडकपेटीमा पेन्टिङ गरेर चिटिक्क पार्ने काम पनि धमाधम भइरहेको छ । सडक पेटीमा नेपाल चिनाउने विभिन्न तस्बिरहरु पनि सजाउने काम भइरहेको छ ।