बाटोमा सवारी साधनलाई रोकेर यात्रुसँग लिइएको भाडा जाच गर्दै एसपी


सुभेन्द्र दास, लहान ।

जिल्ला प्रहरी कार्यालय सिरहाले बन्दिपुर चोकमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । विजया दशमी, दीपावली र छठ पर्वका अवसरमा बढ्दो सवारी चापसँगै यात्रुहरूलाई पर्न सक्ने कठिनाइको सहजीकरणको लागि ट्राफिक सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी प्रमुख उमा प्रसाद चतुर्वेदीले जानकारी दिए ।

चाडपर्वको समयमा ज्येष्ठ नागरिक बालबालिका कमजोर असहाय अशक्त लगायतलाई सहज होस भन्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको उनले बताए । चाडपर्वको समयमा हुनसक्ने सम्भावित दुर्घटनाबाट बच्नका लागि सवारी चालक यात्रु दुवै संवेदनशील बन्नुपर्नेमा जोड दिए ।

यसैबिच यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असुली गर्न थालेपछि जिल्ला सिरहाको मातहतमा रहेकोे पुर्बपश्चिम लोकमार्गको बलान खोला देखि कमला खोला सम्मका सडकमा चेक जाँचमा कडाइ गरिएको छ। राती ८ बजे देखि १० बजेसम्म जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्वेदी र राष्ट्रिय अनुसन्धान विभाग सिरहाका प्रमुख रमेश चन्द्र यादवले सहायता कक्षमा गएर सवारी साधनलाई रोकेर यात्रुसँग भाडा के कति लिइएको हो दुई वटा चालक छ कि छैन भन्दै सोधपुछ थालेको छ।

त्यसैगरि एसपी चतुर्बेदी र यादव जिल्ला सिराहाको पुर्बपश्चिम लोकमार्गमा पर्ने मुख्य सहर लहान , धनगढी , जिरोमाइल , गोलबजार , मिर्चैया सम्मको बुकिङ काउनटरमा र बाटोमा सबारी साधनलाई रोकेर यात्रुसँग भाडा के कति लिइएको हो दुई वटा चालक छ कि छैन भन्दै सोधपुछ थालेको छ।

एसपी चतुर्वेदीले यात्रुहरूसँग पिर मर्का बारे सोधपुछ पनि थालेका छन् । उनले सवारी हाँक्दा ट्राफिक नियमको पुर्णपालना गर्न गराउन समेत आग्रह गरे । सवारी चलाउँदा सवारी साधनको अवस्था समय समयमा चेकजाच गर्नुपर्ने यात्रुहरूको सङ्ख्या नाम र ठेगानाको अभिलेख राख्नुपर्ने, चालकले सवारीको गन्तव्य लाग्ने समय रोकिने स्थान लगायतका विषयमा जानकारी दिनुपर्ने लगायतका ध्यान दिनुपर्ने उनले बताए ।