६४औं प्रहरी दिवसको अवसरमा साँस्कृतिक कार्यक्रम सम्पन्न


न्युज अफ नेपाल, काठमाडौं ।

६४औं प्रहरी दिवस २०७६ को अवसरमा काठमाडौं महानगरपालिका–२३ बसन्तपुर डबलीमा आयोजित विशेष साँस्कृतिक तथा नेपाल प्रहरी व्याण्ड कन्सर्ट कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

उक्त अवसरमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले सामाजिक क्षेत्रमा विशेष योगदान पुर्‍याउने सामुदायिक सेवा केन्द्र कुलेश्वर, समाजसेवी चरीमाया तामाङ लगायतका महानुभावहरुलाई सम्मान गर्नुभयो । साथै उहाँले सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र कुलेश्वरद्वारा ६४औं प्रहरी दिवसको अवसरमा मानव सेवा आश्रममा रहेका असहाय, अनाथ, फरक क्षमता भएका तथा वेसहारा व्यक्तिहरुका लागि विभिन्न संघसंस्था, व्यापारी र समाजसेवीहरुको सहयोगमा संकलन गरिएको खाद्यन्न सामाग्री उक्त आश्रमलाई प्रदान गर्नुभयो ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक थापा क्षेत्रीले चाडपर्वको समयमा हुने अपराधजन्य क्रियाकलापहरु रोक्न प्रहरी सर्मपित रहेको चर्चा गर्नुभयो ।
महानगरीय प्रहरी परिसर टेकु काठमाडौं, सामुदायिक सेवा केन्द्र जनसेवाको संयुक्त आयोजना तथा महानगरीय प्रहरी वृत्त जनसेवा एवम् महिलाको निम्ति महिला मंच नेपालको सहकार्यमा सम्पन्न उक्त साँस्कृतिक कार्यक्रममा नेपाल प्रहरी संगीत विद्यालयको ब्याण्ड सहितको टोली तथा अन्य संघ संस्थाबाट सचेतनामूलक विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

उक्त अवसरमा सामुदायिक सेवा केन्द्र,जनसेवाका अध्यक्ष तथा कार्यक्रमका सभापति विकास भक्त श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा सोही केन्द्रका उपाध्यक्ष पवित्र बज्राचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी, काठमाडौंस्थित स्थानीय तहका प्रमुखहरु, पर्यटन वोर्डका पदाधिकारीहरु, काठमाडौं जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, सामुदायिक सेवा केन्द्र उपत्यका समन्वय परिषदका पदाधिकारीहरु, समुदाय-प्रहरी साझेदारी कार्यक्रममा आवद्ध विभिन्न सामाजिक संघ संस्थाका पदाधिकारीहरु, कलाकार, संचारकर्मी, स्थानीय बासिन्दा तथा प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।