बर्षा नरोकिँदा एक महिना ढिलो सुरु भयो कालीगण्डकीमा र्याफ्टीङ्ग


दुर्गाप्रसाद शर्मा, पर्वत ।

निरन्तरको बर्षाका कारण झण्डै एक महिना ढिलो गरि कालीगण्डकी नदीमा जलयात्रा (र्याफ्टीङ्ग) सुरु भएको छ । नदीमा पानी सतह घटेपछि गत जेठ अन्तिम सातादेखि बन्द भएको जलयात्रा बुधबार देखि शुरु भएको हो ।

कालीगण्डकीमा अंग्रेजी महिना सेप्टेम्बरको पहिलो साता देखि नोभेम्बरको मध्य सम्म सञ्चालन हुने भएपनि यसपटक झण्डै एक महिना ढिलो गरि जलयात्रा शुरु भएको हो । निरन्तरको बर्षा नरोकिएका कारण बुधबारबाट पहिलो समुह र्याफ्टिङ्ग गर्न आएको छ । एक महिना ढिलो गरि जलयात्रा शुरु भएकोले धेरै पर्यटकले जलयात्रा गर्न नपाउने अबस्था रहेको स्विसा र्याफ्टिङ्ग एण्ड ट्रेकिङ्ग एक्सपिडेसनका प्रबन्ध निर्देशक देब रेग्मीले बताउनुभयो । ‘अहिले पनि पानी परिरहेको छ’ उहाँले भन्नुभयो ‘बर्षाका कारण यस पटक ब्यबसाय चौपट भएको छ’

छोटो र पारिवारिक जलयात्राका लागि कालीगण्डकी नदीमा जलयात्रा गर्न आउने पर्यटक प्रत्येक वर्ष बढ्दै गएका थिए । एक सिजनमा कम्तीमा पनि २ देखि ३ हजार पर्यटकले जलयात्रा गर्दै आएका छन । तर यो सिजनमा बर्षा, बाढी, पहिरो नरोकिएका कारण सेप्टेश्बरको सुरुमै बुक गरेका धेरै पर्यटकले र्याफटिङ्ग रद्द गरिसकेको रेग्मीले बताउनुभयो । कालीगण्डकी नदीमा १० वटा भन्दा धेरै कम्पनीले र्याफटिङ्ग सञ्चालन गर्दै आएका छन ।

पर्वतको कुश्मा नगरपालिका १ पाङ स्थित नयाँपुल तथा मालढुंगा देखि शुरु हुने र्याफ्टिङ स्याङजा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत परियाजनाको जलाशयमा पुगेर टुङगिन्छ । तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यको रुपमा रहेको छ । कालीगण्डकी नदीमापानीको छाल, मनोरम दृश्य, झरना, विभिन्नबनस्पति, जलचरहरुको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् । यहाँ धेरै इजरायलीपर्यटक आउने गरेका छन भने अस्टेलिया, युरोपियनमुलुक र अमेरिकीपर्यटकको रोजाईमापनि कालीगण्डकी नदी पर्दै आएको छ ।

नयाँपुल–मोदीवेणी खण्डमा पहिलो दिनको यात्रा बनाएर जाने साथै दोस्रो दिनमा पर्वतकै विहादी गाउँपालिका बर्राचौरको पूर्तिघाट नजिक बस्ने र तेस्रो दिनमा मिर्मी हुँदै पोखरा जानेगरि पर्यटकहरु यात्रा तय गर्ने गरेका छन् । यात्राको क्रममा बस्ने ठाउँहरुमा भौतिक संरचनाको विकास गर्न र कुस्मानगरपालिकाको आर्मादीनजिकै खोलाको बिचमा रहेका ठूला ढुंगाहरु नहटाउँदा समस्या आउने गरेको पर्यटक गाईड नविन केसीले बताउनुभयो ।