९७ बर्षका जेष्ठ नागरिकलाई दश हजार नगद सहित सम्मान


नेपाल समाचारपत्र, पर्वत ।

फलेबास नगरपालिकाले ९७ बर्ष उमेर पुगेका दुई जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । फलेवास नगरपालिकाले वडा नं ६ देविस्थानका ९७ बर्षिय रत्नबहादुर थापा र फलेवास नगरपालिका-८ ठानामौला घर भै फलेवास नगरपालिका-४ धारापानी छोरीसंग बस्दै आउनु भएकी ९७ बर्षिय टिकाकुमारी कुवँर सम्मानित गरेको हो ।

नगरपालिकाले प्रतिब्यक्ति १० हजार नगद र दोसल्ला सहित सम्मानपत्रले सम्मान गरेको छ । बृद्धहरुलाई औषधी उपचारमा थोरै भएपनि सहयोग पुगोस भनेर नगद सहित सम्मान गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले हरेक बर्ष २ जना सबैभन्दा जेष्ठ नागरिकलाई समान गर्दै आएको नगर प्रमुख पदमपाणी शर्माले बताउनुभयो । ‘हामीले धेरै जनालाई भन्दा पनि दुई सबैभन्दा जेष्ठ नागरिकलाई नगद सहित सम्मान गर्ने परम्परा थालेका हौ’ मेयर शर्माले भन्नुभयो ‘जेष्ठ नारगरिक अनुभव र प्रेरणका श्रोत हुने भएकाले उहाँहरुको स्यहार र संरक्षण गर्नुपर्नेमा जोड दिन सांकेतिक हिसाबले सम्मान गरिएको हो ।

फलेवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोतीप्रसाद सापकोटा, योजना व्यवस्थापक देबीप्रसाद तिमिल्सिना,महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख विष्णु शर्मा चपाई, नेकपाका फलेबास कमिटिका अध्यक्ष पिताम्वर शर्मा लगायतले जेष्ठ नागरिकलाई सम्मान गर्दा समाजमा सकारात्मक सन्देश जाने धारणा राख्नुभएको थियो ।