मालपोतमा भू–सेवा केन्द्र


मोतीराम तिमल्सिना, काभ्रे ।

नागरिकलाई घरबाटै सेवा प्रदान गर्ने उदेश्यले शुरु भएको भू–सेवा मालपोत कार्यालय काभ्रेमा कार्यान्वयन गरिएको छ । भदौ ३० गतेबाट शुरु गरिएको सेवा पूर्ण रुपमा कार्यान्वयनमा आउने गरी दक्ष जनशक्ति तयार गर्दै ब्यवस्थापन गरिएको प्रमुख मालपोत अधिकृत शालिकराम आचार्यले बताउनु भयो ।

अनलाईनबाटै सेवा प्रदान र प्राप्त गर्न पेपरलेस सरकारको अवधारणालाई मूर्त रुप दिई छिटो छरितो र प्रभावकारी सेवा प्रभाव गर्न भू–सेवा केन्द्र सेवा शुरु गरिएको आचार्यले बताउनु भयो । जिल्लाबाट उक्त सेवा प्रभावका लागि ५२ जनाले अनुमति लिएका छन् । उक्त सेवाबाट लिखत पारित जसमा राजिनामा, बकस, छोडपत्र, सगोलनामा, नामसारी, रोक्का÷फुकुवा, हाल साविक, प्रतिलिपि, विद्युतीय अभिलेख संशोधन, दाखिल खारेज लगायतका कार्यहरु हुनेछन् ।

घरबाटै जग्गा सम्वन्धी कार्य गर्न निवेदन दिन सकिने र अनलाईनबाटै कारोवार गर्न सकिने भएकाले नागरिकलाई उक्त सेवाले सहज बनाउने प्रमुख शालिकराम आचार्यले बताउनु भयो । यसका लागि सेवा केन्द्रको अनुमति लिएकाहरुलाई तालिम प्रदान गरिएको छ । तालिम लिएका ब्यक्तिहरुले पनि नागरिकलाई सेवा दिन सक्नेछन् । एक पटक लिएको युजरले आफ्नो जग्गाको ५ पटकसम्म कारोवार गर्न सक्नेछ ।

मालपोत कार्यालय काभ्रेले २०७३ पौष ६ गते देखि साविकका ९ वटा गाविसलाई अनलाईन सेवा मार्फत सेवा दिन शुरु गरेको थियो । साविकका ९ वटा गाविसबाट शुरु भएको उक्त अनलाईन सेवा अहिले पूर्ण रुपमा लागु भएको छ । कार्यालमा आई पी क्यामेरा जडान गरी सबै कर्मचारीको कार्यकक्षको तथा कामको अवलोकन कार्यालय प्रमुखु, तालुक विभाग तथा मन्त्रालयबाट प्रत्यक्ष रुपमा जतिखेर पनि हेर्न सकिने ब्यवस्था गरिएको छ । जसका कारण कार्यालय समयमा कार्यालय भित्र सेवाग्रहिसँग अतिरिक्त शुल्क लिने सक्ने अवस्था हटेको छ । पूर्ण प्रविधिमैत्री कार्यालय निर्माणका लागि आफ्नै वेभसाईटको ब्यवस्था गरी भए गरेका कार्यहरुको जानकारी दिने गरेको प्रमुख आचार्यले बताउनु भयो ।

कार्यक्रममा पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, लेखापढी ब्यवसायी संघका अध्यक्ष रोशन श्रेष्ठ लगायतले उक्त सेवाका बारेमा धारणा राखेका थिए । कार्यक्रममा मालपोत अधिकृतरमेश पौड्याल, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिना, लेखापाल चर्तुभुज तिमल्सिना, कम्प्युटर शाखाका रामभक्त हुमागाईले मन्तब्य राखेका थिए ।