‘अब पन्छिने समय छैन’: प्रवक्ता श्रेष्ठ


हेटौंडा, (नेस) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार र नेकपा पार्टीलाई अब देशमा निरंकुशतन्त्र छ, केही गर्न सकिएन भनेर पन्छिने समय नभएको बताउनुभएको छ ।

नेपाली जनताले अनुभूति गर्नसक्ने र हामीले केही पायौं भनेर महसुस गर्नसक्ने बनाउनु बाध्यात्मक अवस्था रहेको भन्दै उहाँले यदि त्यसो नभए राजनीतिक परिवर्तनमाथि नै प्रश्न उठ्नसक्ने खतरा रहने औंल्याउनुभयो ।

‘यदि त्यस्तो अवस्था आयो भने जनतामा निराशा पैदा हुन्छ र त्यो असन्तुष्टिले खतरा हुनसक्छ,’ उहाँको भनाइ थियो ।रेडियो सन्देश हेटौंडाले बुधबार गरेको अन्तर्कृयामा नेता श्रेष्ठले भन्नुभयो–हामीले ठीक काम ग¥यौं भने कुनै हालतमा प्रतिगमन फर्किन सक्दैन ।

नेकपा, आन्दोलनका सहयात्री दलहरु र सरकारले ठीक काम गरेनन् भने जतिसुकै चिच्याए पनि यो वा त्यो रुपमा देशमा प्रतिगमन आउन सक्छ । तर, हामी त्यसो हुन दिन्नौं ।उहाँले राष्ट्रिय स्वाधिनता, परराष्ट्र नीति र राष्ट्रिय सुरक्षाका विषयमा सबै एक हुनुपर्ने औंल्याउनुभयो ।

उहाँले भन्नुभयो–विकासको दिशातर्फ जान न्यूनतम् सहमति खोजौं । देशलाई केन्द्रमा राखेर सोचौं । यसबारे मुलभूत राष्ट्रिय सहमति बन्नुपर्दछ ।

उहाँले भ्रष्टाचार नियन्त्रणसहित सुशासन, छुट्याइएको विकास बजेट खर्च गर्ने क्षमता, विकासको नयाँ खाका, बैकल्पिक कार्यक्रम, सचेततापूर्वक बनाइने परराष्ट्र नीति तथा भूराजनीतिक अवस्थितिका कारण हुने अवसरबाट लाभ लिन सक्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सञ्चारकर्मीलाई नेता तथा मन्त्रीहरुले गरेका अनावश्यक कुरालाई मिलाइमिलाइ समाचार नबनाउन आग्रह गर्नुभयो । ‘देशको हितबेगरका वक्तव्यलाई पत्रकारहरुले प्रकाशन/प्रसारण गर्नुको कुनै अर्थ हुँदैन,’ उहाँको दाबी छ ।

सबै नेता तथा मन्त्रीले गरेको सबै भाषण समाचारका लागि योग्य नहुने उहाँले बताउनुभयो । नेपालको हरेका क्षेत्रमा भएका कमीकमजोरीलाई आत्मसमिक्षा गर्दै सुधार्नुपर्ने भन्दै नेता श्रेष्ठले पत्रकारमा पनि कमजोरी रहे सुधार्नुपर्ने औंल्याउनुभयो । नेपालको परिवर्तनका आन्दोलनमा नेपाली मिडियाको भूमिका महत्वपूर्ण रहेकोमा उहाँले खुशी व्यक्त गर्नुभयो ।