सुर्यबिनायक नगरपालिकाले गर्यो २१ ज्येष्ठ नागरिकलाई सम्मान


भक्तपुर,(नेस) ।भक्तपुरको सुर्यबिनायक नगरपालिकाले बिभिन्न वडाका २० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नगरपालिकाले नगरपालिका अन्तर्गत प्रत्येक वडाबाट एक बृद्ध र एक बृद्धा गरी २ जनाका दरले १० वटा वडाबाट २० जनालाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा आफैं ज्येष्ठ नागरिक भए पनि ज्येष्ठ नागरिककै सेवामा सकृय ब्यक्तित्व हिरालाल तिमिल्सिना समेत हुनुहुन्छ ।उहाँहरुलाई सम्मानपत्र,बिभिन्न खानेकुरा र पोशाक दिएर सम्मानित गरिएको थियो ।

सो अवसरमा सम्मानित मध्य सबै भन्दा बढी उमेरका वडा नं.९ बस्ने ९८ बर्षिया कान्छीमाया भण्डारी र वडा नं.६ बस्ने ज्ञानबहादुर धोजुलाई बिशेष सम्मान गरिएको छ । कार्यक्रममा नगरपालिकाका प्रमुख बासुदेव थापाले उहाँहरुलाई सम्मान गर्दै नगरपालिकाले ज्येष्ठ नागरिकको हितका लागि लागि बिशेष पहल गरेको बताउनुभयो ।

उहाँले नगरपालिकाले ज्येष्ठ नागरिकलाई अपमान गरिए नगरबाट उपलब्ध सेवा नपाईने नीति अघि सारेको बताउनुभयो । नगरपालिकाका प्रमुख थापाले ज्येष्ठ नागरिकलाई अपमान गर्ने घर परिवारका सदस्यलाई नगरबाट उपलब्ध हुने सेवा सुबिधामा रोक लगाएको बताउँदै नगरपालिका सँधै ज्येष्ठ नागरिकको पक्षमा रहेको बताउनुभयो ।

उहाँले ज्येष्ठ नागरिक ज्येष्ठ नागरिक अनुभवका पुञ्ज भएको बताउँदै उमेरकै कारण बिभेद गर्न नहुने बताउनुभयो ।कार्यक्रममा उपप्रमुख जुना बस्नेत,प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली,नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी,नपाका ८ नं. वडाका वडाध्यक्ष तथा सामाजिक बिकास समिति संयोजक किरण थापा,७ नं.वडाका वडाध्यक्ष तथा पुर्वाधार बिकास समिति संयोजक रबिन्द्र सापकोटा र ९ नं.वडाका वडाध्यक्ष तथा नपाका प्रबक्ता उपेन्द्र केसी तथा ज्येष्ठ नागरिक टंकनाथ भण्डारी लगायतले ज्येष्ठ नागरिकले समाजमा सम्मानपुर्वक बाँच्न पाउनुपर्ने अवस्थाको लागि सबैले पहल गर्नु पर्नेमा जोड दिनुभयो ।