भ्रमण वर्ष सफल बनाउन समिति गठन


न्युज अफ नेपाल, हेटौंडा ।

भ्रमण वर्ष २०२० लाई प्रभावकारीढंगले सफल बनाउन मकवानपुरमा जिल्लास्तरीय सहजीकरण तथा समन्वय समिति गठन भएको छ ।
मंगलबार जिल्ला समन्वय समिति मकवानपुर प्रमुख एवम् जिल्लास्तरीय भ्रमण वर्ष सहजीकरण तथा समन्वय समिति अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले १ सय १ सदस्यीय समिति गठन गरेको हो ।

बैठकले भ्रमण वर्ष सफल बनाउन सबैले सक्रियतासाथ काम गर्ने निर्णय गरेको छ । भ्रमण वर्ष सफल पार्न कार्तिक १० गतेसम्म स्थानीय तहहरुमा गठित भ्रमण वर्ष सहजीकरण तथा समन्वय समितिको बैठक बस्ने, स्थानीय तहहरुमा भएका पर्यटनस्थल तथा पर्यटन गन्तव्यको खोजी गरेर सूचीकृत गर्ने निर्णय गरेको छ ।

स्थानीय तहहरुले सूचीकृत गरेका पर्यटकीयस्थलको सूची कार्तिक दोस्रो साता बस्ने जिल्लास्तरीय समितिमा पेश गर्ने निर्णय गरेको जिल्लास्तरीय भ्रमण वर्ष सहजीकरण तथा समन्वय समिति अध्यक्ष खुलालले जानकारी दिनुभयो ।

बैठकमा खुलालले भ्रमण वर्ष सफल बनाउन सबैलाई सक्दो प्रयास गर्न आग्रह गर्नुभयो । बैठकमा उहाँले भ्रमण वर्षका सन्दर्भमा प्रदेश सरकारद्वारा गठित समिति तथा प्रदेश सरकारका निर्णयबारे जानकारी गराउनुभएको थियो । उहाँले संयुक्तरुपमा सबैको पहल र प्रयासबाट मात्र भ्रमण वर्ष सफल बनाउन सकिने भन्दै यसमा थप ध्यान दिन स्थानीय तहहरुलाई निर्देशन दिनुभयो ।

बैठकमा जिल्लाका स्थानीय तहहरुका प्रमुख-उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, मकवानपुरका विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, निजी क्षेत्रका प्रतिनिधि तथा पर्यटनसँग सरोकार राख्ने संघ-संस्थाका प्रतिनिधिको सहभागिता थियो ।