कुमाल बस्तीमा स्वास्थ्य शिविर   


न्युज अफ नेपाल, अर्घाखाँची ।
सन्धिखर्क– ५ बेलेवाङका ५५ वर्षीय हरि कुमाललाई बेलाबेलामा पेट दुख्ने समस्या थियो । जिल्ला अस्पताल पुगी भिडियो एक्सरे गरेर रोग पहिचान गर्ने सोच बनाए पनि उहाँ अस्पताल पुग्न भ्याउनुभएको थिएन । गाउँमै आएको स्वास्थ्य शिविरले भिडियो एक्सरे सेवा प्रदान गरेपछि उहाँले त्यसबाट लाभ लिन पाउनुभयो ।

“बेलाबेलामा पेट दुखिरहन्थ्यो” उहाँले भन्नुभयो,“डर लागिरहेको थियो, तर खासै समस्या रहेनछ ढुक्क भएँ ।” उहाँले भिडियो एक्सरे मात्र गर्नुभएन मुटुको जाँच र प्रेसर पनि जाँच गर्नुभयो । स्थानीयवासी पोमबहादुर कुमालले पनि पिसाब र रगत जाँच गराउनुभयो । “केही दिनदेखि ज्वरो आइरहेको थियो”, उहाँले भन्नुभयो, “गाउँमै स्वास्थ्य परीक्षण गर्न पाउँदा खुशी लाग्यो ।”

अर्का स्थानीयवासी मनकला भुसालले पनि शिविरमा दाँत फाल्नुका साथै मटुको परीक्षण गराउनुभयो । दैलामै डाक्टरसाब आएर जाँच गर्नुभयो” ८० वर्षीया भुसालले खुशी हुँदै भन्नुभयो, “दाँतले निकै दुःख दिइरहेको थियो, अब सायद समस्या नहोला ।”
विश्व मुटु दिवसको अवसरमा लायन्स÷लियो क्लब अफ काठमाडौँ लर्ड बुद्धले यहाँ आयोजना गरेको दुई दिने स्वास्थ्य शिविरमा करीब एक हजार ५०० जनाले स्वास्थ्य सेवा लिएका छन् ।

शिविरको समापन गर्दै प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले स्वास्थ्य क्षेत्रमाथि कसैले पनि खेलवाड गर्न नहुने बताउनुभयो । “स्वास्थ्य क्षेत्रको विकासले अन्य क्षेत्रको विकासलाई पनि टेवा पु¥याउँछ” उहाँले भन्नुभयो, “राज्यले ठोस् योजना बनाएर यसको विकासमा लाग्नुपर्छ । पछिल्लो समयमा धेरै मानिसले मिर्गाैला क्यान्सर, हृदयघातका कारण ज्यान गुमाइरहेका छन् ।”

उहाँले खानपिनमा ध्यान दिई समय-समयमा स्वास्थ्य परीक्षण गर्ने बानी सबैले बसाल्नुपर्छ भन्दै जिल्ला अस्पताललाई सुविधा सम्पन्नसहित ५० श्याको बनाएरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

बलेवाङमा कुमाल समुदायको बाहुल्य रहेको छ । शिविरबाट यो समुदाय लाभान्वित भयो । शिविरमा सशस्त्र प्रहरी बल, नेपाल सशस्त्र प्रहरी अस्पताल बलम्बु र नेपाल रेडक्रस सोसाइटीले प्राविधिक सहयोग पुर्याएका थिए । सशस्त्र प्रहरीका विशेषज्ञ डाक्टर र अन्य डाक्टर तथा नर्सहरुले स्वास्थ्यपरीक्षण गरेका छन् । बर्दीमा रहेका प्रहरीले मुस्कानसहित स्वास्थ्यपरीक्षण गरेको देख्दा स्थानीयवासी दङ्ग परे । “प्रहरीका पनि डाक्टर हुँदा रहेछन् मलाई त थाहा थिएन” स्थानीयवासी भोजबहादुर कुमालले भन्नुभयो, “शुरुमा डर लाग्यो र हासीहासी कुरा गर्दै जाँचेपछि सामान्य लाग्यो ।”

क्लबका संस्थापक चार्टर अध्यक्ष विष्णु भण्डारीले क्लबले प्रत्येक प्रत्येक वर्ष मुटु दिवसको अवसर पारेर दुर्गम बस्तीमा स्वास्थ्यशिविर सञ्चालन गर्दै आएको बताउनुभयो ।

“स्वास्थ्यको पहुँचबाट टाढा रहेका विभिन्न बस्तीमा पुगी स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेका छौँ” उहाँले भन्नुभयो, “धेरै मानिसलाई नयाँ जीवन दिन पाइरहँदा खुशी छौँ ।”

क्लबका अध्यक्ष हरि अधिकारीले समान्य स्वास्थ्य समस्या पनि विस्तारै जटिल हुने भएकाले स्वास्थ्यशिविरले मानिसलाई धेरै फाइदा पुर्याउने बताउनुभयो । “समय–समयमा विभिन्न संस्थाले यसैगरी दुरदराजमा पुगेर स्वास्थ्यशिविर सञ्चालन गर्नुपर्छ” उहाँले भन्नुभयो, “बाध्यताले स्वास्थ्य संस्थासम्म पुग्न नसकेकालाई शिविरबाट फाइदा पुग्छ ।”

सशस्त्र प्रहरी अस्पतालमा कार्यरत प्रहरी उपरीक्षक रत्न पोखरेलले अस्पतालले विभिन्न सामाजिक संस्थासँग सहकार्य गरेर दुर्गम बस्तीसम्म पुगी स्वास्थसेवा प्रदान गर्दै आइरहेको बताउनुभयो । “विभिन्न रोगका विशेषज्ञ डाक्टरसहित २५ जनाको मेडिकल टोलीले सेवा प्रदान गर्यो” उहाँले भन्नुभयो, “उल्लेख्य मात्रामा स्थानीयवासीको सहभागिता रहँदा हामीलाई पनि निकै उत्साह प्रदान भयो ।”

जिल्लाका विभिन्न ठाउँका बिरामी शिविरमा आइ स्वास्थ्य सेवा लिएका थिए ।
रासस