मोटरसाइकलमा सवार एकको मृत्यु

0
Shares

सिन्धुली, (नेस)। बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामार्इं नगरपालिका –२ विपल भञ्ज्यांगमा मंगलबार साँझ पिकअप बोलेरो र मोटरसाइकल एक–आपसमा ठक्कर खाई दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी अर्का एक जना घाइते भएका छन्।

सिन्धुली बजारतर्फ आउँदै गरेको बा१७च ८३४६ नम्बरको पिकअप र सिन्धुलीबाट खुर्कोटतर्फ जाँदै गरेको ज१०प ७३५७ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलको पछाडि सवार महोत्तरीको बर्दिबास नगरपालिका–२ का वर्ष २० का सुनिल घतानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

दाइने खुट्टा र टाउकोमा चोट लागी गम्भीर घाइते भएका घतानीको सामान्य उपचारपछि थप उपचारका लागी काठमाडौंतर्फ लैजाँदै गर्दा गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा पुगेपछि साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो।

दुर्घटनामा महोत्तरी बर्दिबास नगरपालिका–२ कै मोटरसाइकल चालक वर्ष २१ का सुशिल विक घाइते हुनुभएको छ। उहाँको दाहिने हात र खुट्टामा चोट लागेको प्रहरी उपरीक्षक सिंहले बताउनुभयो।