अनुगमनको कमीले उपभोक्ता ठगिने क्रम रोकिएन


यमलाल भुसाल, बुटवल।चाडपर्वको समयमा उपभोक्ता ठगिने गरेको सरोकारवाला निकाय तथा कार्यालयका प्रतिनिधिले औंल्याएका छन्। चाडपर्व नजिकिँदै गर्दा विभिन्न क्षेत्रका व्यवसायीबाट उपभोक्ता ठगिने गरेको उनीहरूले बताएका छन्।

रिपोर्टर्स क्लबले बुधवार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्ने सरोकारवाला कार्यालयका प्रमुख तथा अध्यक्षले बजार अनुगमन प्रभावकारी बन्न नसकेको औंल्याएका छन्।

उनीहरूका अनुसार दैनिक उपभोग्य वस्तु बिक्रीवितरण गर्ने व्यवसायी, यातायात र होटल व्यवसायीबाट उपभोक्ता सबैभन्दा बढी ठगिने गरेका छन्।

गुणस्तरीय सेवा र खाद्यान्न पाउने अधिकारबाट उपभोक्तालाई बन्चित गराउन नहुने र त्यसका लागि उचित अनुगमन गरी गलत कार्य गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनीहरूको भनाइ छ।

कार्यक्रममा बोल्दै इलाका प्रशासन कार्यालय बुटवलका अधिकृत विष्णु ज्ञवालीले उपभोक्तालाई गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराउन बजार अनुगमन गर्ने विषयमा जिल्ला प्रशासन प्रतिबद्व रहेको बताउनुभयो। उहाँले मूल्य वृद्धि र सिट संख्या भन्दा बढी यात्रुलाई टिकट दिएर सर्वसाधारणलाई दुःख दिने कार्यलाई सबैको सहयोगमा रोकिने बताउनुभयो।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय रुपन्देहीका निमित्त प्रमुख रुद्र ज्ञवालीले सरकारबाट कानुनीरूपमा प्रदेश तथा स्थानीय तहमा अनुगमन समिति गठन गर्नुपर्ने भए पनि त्यसो हुन नसकेको र नियमावली पनि नआएका कारण बजार अनुगमनमा समस्या भएको बताउनुभयो।

उहाँले आफ्नो तहबाट अनुगमन गर्ने प्रयास गरिए पनि जनशक्ति अभावका कारण प्रभावकारी हुन नसकेको धारणा राख्नुभयो।