‘म बरु भोकै मर्छु, मेरा नातिनातिनाले खान पाउन्’


विमल विष्ट, डोटी। डोटीको दीपायल सिलगढी नगरपालिका–३ बस्ने कृष्ण नेपालीले गएको असार २ गते आफ्नी श्रीमतीको हत्या गरेपछि अहिले उनका छोरा–छोरी बिचल्लीमा परेका छन्।

श्रीमतीले मासु नपकाइदिएको भन्दै रक्सीले मातिएका उनले अन्धाधुन्ध कैंचीले प्रहार गरी श्रीमतीको हत्या गरेका थिए।श्रीमतीको हत्यापछि अहिले कृष्ण जिल्ला कारागार डोटीमा कैद भुक्तान गरिरहेका छन्।

हत्या अभियोगमा बुबा कृष्ण नेपाली कारागार चलान भएपछि ४ छोरा छोरी विचल्लीमा परेका छन्।‘दशैं आया सबैले नयाँ लुगा किन्दै छन्। मेरो नाति नातिनीलाई लुगा त के खानलाई दिन खाद्यान्नसमेत छैन।

गहभरी आँसु देखाउँदै कृष्ण नेपालीकी वृद्ध आमा पार्वती नेपालीले भन्नुभयो, ‘म बरु भोकै मर्छु, मेरा नाति–नातिनीहरूले खानपाउन्।’कृष्णका छोरा–छोरीको गएको असार महिनादेखि पढाइ पनि अलपत्रमा परेको छ।

स्थानीयवासी भरत द्वारीयाका अनुसार पार्वतीलाई बाथ रोगले ग्रसित बनाएको छ। पावर्तीको घरमा खानलाई अन्नको दाना पनि छैन। काम गरी कमाएर कलिला नाति–नातिनी पाल्न सक्ने तागत उहाँमा छैन।

छरछिमेकीले दिएपछि मात्र दाल–तरकारी पकाउने गरेको उहाँले बताउनुभयो। कृष्णका जेठा छोरा १६ वर्षका अंकित कक्षा ८ मा पढ्छन्। पढाइमा अब्बल भए पनि कहिलेकाहिँ उनी भोकै स्कुल जाने गरेको उनकी हजुरआमाले बताउनुभयो। १२ वर्षीया बहिनी सन्ध्या नेपाली कक्षा ५ मा पढ्छिन्।

एउटा भाइले स्कुल नै छोडिसके भने जेठो दिदी कल्पना भने नेपाल प्रहरीमा भर्ना भएर अहिले सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दीपायलमा तालिम गर्दैछिन्।

रक्सीले मातेका बबाले आँखैअगाडि आमाको विभत्स हत्या गरेको देखेका कृष्णका छोरा छोरी अहिले कसैसँग बोल्नसमेत डराउँछन्।

आमाको हत्यापछि विचल्लीमा परेका नातिनातिनीको पढाइको जिम्मा दीपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले लिने प्रतिबद्धता सुनाएको हजुरआमा पार्वतीले बताउनुभयो। उहाँले भन्नुभया–‘नाति नातिनीहरूलाई पढाउँछु त भन्नुभएको हो तर पछि आउनु भएन, के पो भयो।’

दीपायलको सिलगढी नगरपालिका र वडा कार्यालयले किरिया खर्चबापत भनेर पार्वतीका परिवारलाई ३५ हजार नगद दिएको थियो। पार्वतीले भन्नुभयो– ‘अरु नसके पनि मेरा नातिनातिनीलाई पढाइदिनुस्, त्यो गुन म कहिल्यै बिर्सने छैन।’