प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना दशैं–तिहारमा प्रहरीलाई बिदा नदिइने



नेपाल समाचारपत्र, डोटी।यसवर्षको दशैं तथा तिहारलाई शान्तिपूर्ण बनाउन जिल्ला प्रहरी कार्यालय डोटीले नयाँ सुरक्षा योजना बनाएको छ। दशैं तथा तिहारलाई विषेश महत्व दिई बनाइएको योजनामा प्रहरी प्रमुख आफै खटिने भएका छन्।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक दिलिपसिंह देउवाले दिएको जानकारी अनुसार दशैं तथा तिहारमा अपराधिक गतिविधि तथा घटनालाई निरुत्साहित गर्न योजना बनाइएको हो।

प्रहरी उपरीक्षक देउवाले दिनुभएको थप जानकारी अनुसार दशैं तथा तिहारको समयका लागि ठाउँ–ठाउँमा प्रहरीका ७ वटा पिकेट टोली परिचालन गरिनेछ भने वित्तीय संघ–संस्था, आर्थिक कारोबार हुने क्षेत्र तथा बढी मानिसको भीडभाड र चहलपहल हुने क्षेत्र तथा ठाउँमा प्रहरी अधिकृतको कमान्डमा चौबीसै घण्टा प्रहरी टोली तैनाथ गरिने भएको छ।

प्रहरीले बनाएको नयाँ सुरक्षा योजनामा पर्याप्त मात्रामा सादा पोशाकका प्रहरीसमेत परिचालन गरिने छ भने जिल्ला प्रहरी कार्यालयमा प्रहरी उपरीक्षकको कमान्डमा एक विशेष प्रहरी बल चौबीसै घण्टा तैनाथ अवस्थामा रहने छ।

चाडबाडको समयमा कुनै पनि घटना भएमा वा हुने संकेत भएमा तत्काल प्रहरी प्रमुखको नम्बर ९८५८४३५५५५ र निःशुल्क नम्बर १००,११० तथा ०९४–४२०२०५ मा खबर गरिदिनसमेत प्रहरीले सबैमा आग्रह गरेको छ।

प्रहरीले बनाएको नयाँ सुरक्षा योजना असोज १७ गतेबाट लागू गरिने जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। नयाँ सुरक्षा व्यवस्थाका लागि बढी मात्रामा प्रहरीको संख्या आवश्यक पर्ने भएकाले जिल्ला प्रहरी कार्यालय डोटीले आफू मातहतका कुनै पनि प्रहरी कर्मचारीलाई दशैं तिहारमा विदा नदिने निर्णय गर्नुका साथै आजभोलि नै विदामा घर गएका आफ्ना प्रहरी कर्मचारीलाई हाजिर हुन पत्राचार गरेको बताइएको छ।

यसका साथै जिल्ला प्रहरी कार्यालय डोटीले दशैं तिहारको सुरक्षा व्यवस्था सुदृढ बनाउन नं १ शसस्त्र प्रहरी गुल्म दिपायलबाट पनि थप प्रहरी माग गर्ने योजना बनाएको छ।

दशैं तथा तिहार निर्धक्कतासाथ मनाउन सबैमा आग्रह गर्दै डोटी प्रहरी ‘प्रमुख प्रहरी उपरीक्षक’ देउवाले भन्नुभयो, ‘बाटोको अवस्था तथा अन्य समस्या बाहेक ५ मिनेटमा घटनास्थलमा प्रहरी पुग्ने योजना बनाएका छौं, जुवा तास नखेल्नुस्, मादक पदार्थ सेवन गरी झै–झगडा नर्गनुस्, जनताको जीउधनको सुरक्षाका लागि हामी तैनाथ छौं।’

त्यस्तै राजमार्ग छेउछाउमा यात्रुमाथि लुटपाट हुन नदिन तथा सवारी चालकले आफ्नो सवारीको क्षमताभन्दा बढी यात्रु बोके कारबाही गर्नका लागि ट्राफिक तथा जनपद प्रहरीलाई खटाएको समेत प्रहरी उपरीक्षक देउवाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्