कांग्रेसको दोस्रो जागरण अभियान सम्पन्न


नेपाल समाचारपत्र, जाजरकोट। नेपाली कांग्रेस केन्द्रीय कर्यालयको निर्देशनअनुसार सञ्चालित १५ दिने दोस्रो जागरण अभियानको जाजरकोटमा समापन भएको छ।

जाजरकोटका सातवटै स्थानीय तहका नेता कार्यकर्ता जनप्रतिनिधि तथा स्थानीय निर्वाचनमा पराजित प्रत्यासीसँग अन्तरक्रिया कार्यक्रम गरेको नेपाली कंग्रेसले अन्तिम दिन जाजरकोट सदमुकाम खलंगामा सरकार विरुद्ध प्रदर्शन गरेको हो।

काण्डै काण्डका गलत काम गरेको दुई तिहाई बहुमतको नेकपा सरकारले जनभावनाअनुसार काम गर्न सकेन भन्दै सरकार विरुद्ध चर्का नारा लगाउँदै कांग्रेस नेता कार्यकर्ताले सदरमुकाम खलंगा बजार परिक्रमा गरेका थिए।

जिल्लाका सातवटै स्थानीय तहमा जागरणमूलक कार्यक्रम सकेर नेपाली कांग्रेस जाजरकोटले नेता कार्यकर्ताको सहभागितामा सदरमुकाम खलंगामा सरकारविरुद्ध प्रदर्शन गरेको नेपाली कांग्रेस जाजरकोटका कोषाध्यक्ष तेजविक्रम शाहले बताउनुभयो।

सरकारका गलत क्रियाकलाप, सरकारको काम गर्ने शैली, जनतामा उत्पन्न भएको असन्तुष्टि र भ्रष्टाचारका विरुद्ध खबरदारी गर्दै नेपाली कांग्रेसले सदमुकाम खलंगा बजारमा शान्तिपूर्ण आन्दोलन गरेको कोषाध्यक्ष शाहले बताउनुभयो।

जागरण अभियानको समापन गर्दै नेपाली कांग्रेस जाजरकोटले निर्मला पन्तको बलात्कारपछि हत्या, ३३ किलो सुनकाण्ड, वाइडबडी विमान काण्ड, नेपाली जनतालाई विभिन्न बहानामा लगाएको करको विरुद्धमा नारा लगाउँदै सरकारको विरोध गरेको थियो।

सरकारको विरोध प्रदर्शनमा नेता, कार्यकर्ता तथा युवाले प्रधानमन्त्री केपी शर्मा वली र नेकपा विरुद्ध चर्का नारा लगाएका थिए।

नेपाली कांग्रेस जाजरकोटको पार्टी कार्यालय बीपी भवन थाप्लेदेखि शरू भएको र्याली गैरिखाली, दरबार, पीपलडाँडा हुँदै ठाँटी बजारमा पुगेर कोण सभामा परिणत भएको थियो।

जागरण अभियानका केन्द्रीय प्रतिनिधि झकबहादुर डांगी र टंकप्रसाद उपाध्यायले दुई तिहाई सरकारले गरेको गलत कामका विरुद्ध आवाज उठाउन र नेपाली कांग्रेसको सरकारले गरेका सकारात्मक काम जनतासमक्ष पुर्याउन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो।

कोण सभालाई जाजरकोट कांग्रेसका सचिव खडक बिसी, हरिचन्द्र बस्नेत, महेन्द्र शाह, भूमिलाल रोकायलगायतका नेता कार्यकर्ताले सम्बोधन गर्नुभएको थियो।

यसैबीच नेपाल विद्यार्थी संघ जाजरकोटले यातायात व्यवसायीले जाजरकोटमा चल्ने सवारी साधनबाट मनपरी चर्को भाडा असुलेकोले भाडादर घटाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ।

स्थानीय प्रशासनले तोकेको भाडादरभन्दा यातायात व्यवसायीले यात्रुबाट बढी भाडा असुली रहेको, भाडादरको अनुगमन गर्नु पर्ने, मनपरी ढंगबाट भाडा लिने व्यवसायीलाई कारबाही गर्नुपर्ने, जिल्लामा वैज्ञानिक र न्यायपूर्ण भाडादर तोक्नुपर्ने, सडकको स्तरोन्नति गर्नुपर्नेलगायतका माग राखी नेपाल विद्यार्थी संघ जाजरकोटले प्रमुख जिल्ला अधिकारी जनकराज पन्तमार्फत् नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको हो।

जाजरकोट सदमुकाम बाहेक कुनै ठाउँमा पिच नभएको, कच्ची बाटोमा व्यवसायीले तोकिएको भाडादर भन्दा धेरै भाडा असुल गरेको नेपाल विद्यार्थी संघ जाजरकोटका अध्यक्ष ललित बस्नेतले आरोप लगाउनुभयो।

अध्यक्ष बस्नेतले यातायात व्यवसायीले खलंगा पाँचकाटिया पैक, मन्मैबगरदेखि तल्लु छेडा थलह, थलह नरमरा, छेडा शिवालयलगायतका सडक खण्डमा मनपरी भाडा लिने गरेको आरोप लगाउनुभयो।

वर्षायाममा भत्किएका सडक मर्मत हुन नसकेकोले नागरिकले चर्को भाडा तिर्नुपरेको बताउँदै बस्नेतले वर्षायाममा भत्किएका सडक मर्मत गराउन पहल गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गरेको बताउनुभयो।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले ज्ञापनपत्र बझ्दै स्थानीय प्रशासनले कायम गरेका भाडादर कार्यान्वयन भए नभएको अनुगमन गरिने र नयाँ भाडादर कायम गर्नुपरे सरकोरवालासँग छलफल गरेर भाडादर तय गरिने बताउँदै वर्षायाममा बिग्रिएका सडक मर्मतको लागि स्थानीय तहलाई अनुरोध गर्नुका साथै सडक डिभिजन कार्यालयलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो।