गुरु नानकका बारेमा नयाँ पुस्तक आउँदै


काठमाडौं, (नेस)।सिख धर्मका संस्थापक गुरु नानक पातशाहले पाँच सय वर्षअघि नेपालको यात्रा गरेको विषयमा पुस्तक प्रकाशन हुने भएको छ।

अमेरिकी लेखक मनजित सिंहले प्रकाशनमा ल्याउने पुस्तक ‘डिस्कभरि अफ गुरु नानक पातशाह भिजिट इन काठमाण्डु’ सिख धर्मका संस्थापक गुरु नानक पातशाहको नेपाल यात्रामा केन्द्रित हुने छ।

लेखक सिंह अमेरिकाको क्यालिफोर्नियामा रहेको गुरु नानक देव सेवा सोसाइटी इन्टरनेसनलमा कार्यरत हुनुहुन्छ। करिब पाँच सय वर्षअघि इस्वी संवत् १५१५ देखि १५१६ सम्म सिख गुरु नानक पातशाहले गरेको नेपाल यात्राका बारेमा पुस्तकमा सविस्तार वर्णन गरिने लेखक मनजित सिंहले बताउनुभयो।

गुरु नानक पातशाहको नेपाल भ्रमणका विषयमा लेखिने ‘डिस्कभरि अफ गुरु नानक पातशाह भिजिट इन काठमाण्डु’ पहिलो ऐतिहासिक पुस्तक हुने लेखकले दाबी गर्नुभएको छ।

लेखक सिंहका अनुसार तत्कालीन समयमा नेपालमा मल्ल वंशको शासन रहेका बेला गुरु नानक पातशाह तेस्रो यात्राका क्रममा पहिलो पल्ट नेपाल आएका थिए। उनले करिब ११ महिना काठमाडांैलगायतका स्थानमा भ्रमण गरेका थिए।

मल्ल शासन काल यता करिब पाँच सय वर्षदेखि सिख धर्मावलम्बी र गुरु नानक मठ काठमाडांैसँग स्थापित रहेको नेपाली जनताको सम्बन्धका विषयमा पनि पुस्तकमा वर्णन गरिने लेखकले बताउनुभएको छ।

लेखकले पुस्तक ‘डिस्कभरि अफ गुरु नानक पातशाह भिजिट इन काठमाण्डु’ को अन्तराष्ट्रिय प्रतिलिपि अधिकार संयुक्त राज्य अमेरिकाबाट प्राप्त गर्नुभएको थियो।