मन्त्री ज्ञवाली र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता


नेपाल समाचारपत्र, काठमाडौं। संयुक्त राष्ट्रसंघको महासभाको ७४औं महासभामा सहभागी हुन अमेरिका पुग्नुभएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच शिष्टाचार भेटवार्ता भएको छ।

महासभामा सहभागी राष्ट्राध्यक्ष, सरकार प्रमुख र प्रतिनिधिको सम्मानमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले आयोजना गर्नुभएको दिवाभोजका अवसरमा उहाँहरूबीच संक्षिप्त भेटवार्ता भएको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्प र उनी धर्मपत्नी मेलिना ट्रम्प, मन्त्री ज्ञवाली र उहाँकी धर्मपत्नी सरस्वती ज्ञवालीबीच शिष्टाचार भेटवार्ता भएको नियोगले प्रस्ट्याएको छ।

भेटवार्ता संक्षिप्त भएपनि ट्रम्पले नेपालबारे चासो लिनुभएको र मन्त्री ज्ञवालीले नेपालको पछिल्लो अवस्थाबारे अवगत गराउनुभएको बताइएको छ।

सो सामूहिक भेटवार्ताको तस्वीर अमेरिकी राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको छ। राष्ट्रसंघको महासभामा प्रतिनिधित्व गर्ने हरेक मुलुकका प्रतिनिधिसँग अमेरिकी राष्ट्रपतिसँग साइडलाइन वार्ता गर्ने र तस्वीर खिच्ने परम्परा छ।

महासभा गतभदौ ३१ देखि शरू भएको हो। यसपटकको महासभाको नारा ‘गरिबी निवारण, स्तरीय शिक्षा, जलवायु असर र समावेशिताका लागि बहुपक्षीय प्रयास र प्रेरणा’ तय गरिएको छ।

मन्त्री ज्ञवाली महासभाका विभिन्न सत्रमा सहभागी हुनुभएको छ, उहाँले भोलि शुक्रबार महासभालाई सम्बोधन गर्ने कार्यतालिका तय भएको छ।