पर्यटकको सुरक्षामा प्रहरी थप सक्रिय हुन आग्रह


नेपाल समाचारपत्र, काठमाडौं। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भिजिट नेपाल वर्ष २०२० लाई लक्षित गर्दै नेपाल भ्रमणमा आएका पर्यटकको सुरक्षामा कुनै पनि किसिमको त्रुटि नहुने गरी पर्यटक प्रहरी कर्मचारी थप क्रियाशील हुनुपर्ने बताउनुभएको छ।

पर्यटक प्रहरी इकाइ भृकुटीमण्डपमा बुधबार पर्यटक प्रहरी इकाइमा कार्यरत प्रहरी अधिकृत तथा जवानलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताउनुभएको हो।

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले पर्यटक प्रहरीले सम्पूर्ण देशकै प्रतिनिधित्व गर्ने भएकोले पर्यटक प्रहरीको व्यवहार, बोली–वचन, पोशाकलगायत नमुनायोग्य हुनुपर्ने बताउनुभयो।

पर्यटक प्रहरीले पर्यटनसँग सम्बन्धित निकाय पर्यटन बोर्ड तथा पर्यटन मन्त्रालयसँग थप समन्वय गरेर काम गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले भन्नुभयो, ‘पर्यटक प्रहरीले समस्यामा परेका पर्यटकलाई जति छिटो सहयोग गर्न सक्छ, त्यसले नै प्रहरी र राष्ट्रको छवि राम्रो बन्छ।’

समुदाय प्रहरी साझेदारी अवधारणाअनुसार समुदायसँग पनि समन्वय गरेर पर्यटक प्रहरीले उत्कृष्ट कार्य सम्पादन गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले पर्यटक प्रहरीले पर्यटकलाई सकारात्मक प्रभाव पार्ने गरी आ–आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभयो।

सो अवसरमा पर्यटक प्रहरी इकाई भृकुटीमण्डपका प्रमुख प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतले उक्त इकाइले सञ्चालन गर्दै आएका कार्यहरू र कार्ययोजना लगायतका विषयमा जानकारी दिनुभयो।

कार्यक्रममा प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभागका प्रहरी नायब महानिरीक्षक पीताम्बर अधिकारी र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीको समेत उपस्थिति रहेको थियो।