दानमा प्यान ?



रोजगार, आय आर्जन वा कुनै पनि आर्थिक कारोबार गर्ने सबैले स्थायी लेखा नम्बर अर्थात् प्यान लिनुपर्ने सरकारी उर्दी छ।

हलोका ड्राइभर र हाइड्रोका सञ्चालन मात्रै होइन अनेक थरी कारोबार गर्ने चुल्ठे–मुन्द्रे साउ र साउका काउली बेच्ने बडाबाउलाई पनि प्यान अनिवार्य गर्ने उर्दी छ।

नोटलाई कुनै खोट नलगाई चुरोटका खिलीझैं बटारेर थैलीमा कसेपनि लगानीका अनेक नाममा दशतिर दाम फसेपनि प्यान अनिवार्य भनिएको छ।

यही आर्थिक वर्षदेखि सबै नेपालीले प्यानका ‘फ्यान’ बन्नै पर्ने व्यवस्था अनिवार्य भएको हो। त्यसैले त अहिले जग्गा दलाल र खसी, कुखुरा र अन्य जीवजन्तु हलाल गर्ने पनि अब प्यानका फ्यान भएका छन्।

दशैं नजिकिँदै छ, अर्को हप्तादेखि सबैका घर–घरमा दशैं टुप्लुक्कै भित्रिन्छ। दशैं भनेसी दान दक्षिणाको कुरो निकै चर्चामा आउँछ, दक्षिणा नै दशैंको ‘चुरो कुरो’ हो भन्ने बुझाइ पुरानै हो। गच्छे अच्छे हुनेहरूले २–४ सय मात्र होइन २–४ हजार दक्षिणा दिन आनाकानी गर्दैनन्।

दिनेले दिएसी लिनेले लिन्न भन्ने कुरै हुन्न, निधक्क लिन्छ, दङ मख्ख हुन्छ। भनेसी दक्षिणालाई दशैंकर लगाउने सरकारी तयारी के छ, प्यानले यस्तो लेनदेनलाई के भन्छ ?

यो प्रश्न धरहराको मात्रै होइन, प्यानका जबरजस्त फ्यानको पनि हो। लौ, पस्ट पार्नुप¥यो सरकार दक्षिणालाई त दान पनि भनिन्छ क्यारे।

प्रतिक्रिया दिनुहोस्