इजरायली राष्ट्रपतिले सम्भावित प्रधानमन्त्रीका दुबै उम्मेदवारसँग परामर्श लिने   



इजरायल । इजरायलका राष्ट्रपति रेउभेन रिभ्लिनले प्रधानमन्त्रीका सम्भावित दुबै उम्मेदवारसँग परामर्शका लागि सोमबार राष्ट्रपतिको कार्यालयमा बोलाउनुभएको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र विपक्षी दलका नेता बेन्नी गान्टजलाई उहाँले सँगसगै भेट्न लाग्नुभएको हो ।

हालै सम्पन्न निर्वाचनपछि नयाँ सरकार गठन गर्नु पर्ने भएकाले दुबै जनालाई मिलेर सरकार बनाउन उहाँले दवाव दिनुहुने अनुमान गरिएको स्थानीय सञ्चारमाध्यमले लेखेका छन् ।

प्रधानमन्त्री नेतान्याहुको लामो कार्यकाल सकिए पनि उहाँले पदत्याग नगरेकाले राजनीतिक गतिरोध भइरहेका बेला राष्ट्रपतिले महत्वपूर्ण बैठक आयोजना गर्नुभएको हो ।

उहाँले छलफलका लागि दुई उम्मेदवारलाई सँगसँगै बेलुकाको समयमा बोलाएको राष्ट्रपतिको कार्यालयबाट जारी वक्तव्य उल्लेख छ ।

उहाँले दुवैलाई संयुक्त सरकार बनाउन आग्रह गर्नेगरी बैठक आयोजना गरेको पनि वक्तव्यमा छ ।

हालै भएको निर्वाचनबाट गान्टसको मध्यमार्गी दल ब्ल्यु एण्ड ह्वाईट एलाईन्सले ३३ सिट जितेको छ भने नेतान्याहुको राइट विङ् लिकुडले ३१ सिट जितेको छ ।

इजरायलमा यही सेप्टेम्बर १७ तारिखमा दिन १२० सिटका लागि निर्वाचन भएको थियो । सवैभन्दा धेरै ल्याउनेले नै ३३ सिट मात्रै ल्याएकाले कुनै दलले ५० प्रतिशत पुर्याउन सकेका छैनन् ।

कुनै दलको बहुमत नभएको र धेरै सिट ल्याउने दलहरुको सिट अन्तर पनि धेरै नरहेकाले राजनीतिक स्थायित्वका लागि दुवैलाई मिलेर सरकार बनाउन राष्ट्रपतिले आह्वान गर्न लाग्नुभएको हो ।
रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्