राष्ट्रपतिलाई ट्युसन पढ्न आग्रह


नेपाल समाचारपत्र, इलाम।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पूर्वराष्ट्रपति रामवरण यादवसँग गएर ट्युसन पढ्न आग्रह गर्नुभएको छ।

एक सार्वजनिक कार्यक्रममा राष्ट्रपति भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई होच्याएर बोलेपछि राष्ट्रपति भण्डारीको आलोचना भएको छ।

नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियानका क्रममा शनिबार इलाम आइपुग्नुभएका प्रवक्ता शर्माले भन्नुभयो– ‘राष्ट्रपति भण्डारीले आफूले के बोल्ने, के नबोल्ने भन्ने बारेमा ज्ञान छैन भने उहाँले पूर्वराष्ट्रपति रामवरण यादवसँग गएर ट्युसन लिए हुन्छ।’

‘कम्युनिस्ट नेताको बोली जनताले बुझे तर कर्म बुझेनन्, कांग्रेस नेताको बोली बुझेनन् तर कर्म बुझे’, नेता शर्माले भन्नुभयो– ‘बोली बुझिने चार जना कम्युनिस्ट नेताको नेतृत्वमा सरकार बन्यो तर देशले संविधान पाएन, तर बोली नबुझिने कांग्रेस नेताको नेतृत्वमा सरकार बन्यो देशले संविधान पायो, अनि शान्तिपूर्ण ढंगबाट देशमा तीनैतहको निर्वाचनसमेत भयो।’

कांग्रेसका सुशील कोइरालाको बोली बुझिँदैन थियो तर उहाँकै नेतृत्वमा देशले संविधान पायो, वर्तमान पार्टी सभापति शेरबहादुर देउवाको बोली बुझिँदैन तर उहाँकै नेतृत्वमा देशमा तीनै तहको निर्वाचन सम्पन्न भयो।

बोली बुझिने कम्युनिस्ट नेताको नेतृत्वमा सरकारहरू बने तर संविधान बनेन तर बोली बुझ्ने कम्युनिस्ट नेताको कर्म नबुझ्दा देशका जनता हैरान बनेको शर्माको भनाइ थियो।