पक्की पुल निर्माणका बारेमा परराष्ट्रमन्त्रीसँग छलफल


बैतडी, (नेस)।बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारीले सिमानाका झुलाघाटमा पक्की पुल निर्माणका विषयमा परराष्ट्रमन्त्रीसँग भेटघाट गर्नुभएको छ।

झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि जिल्लामा रिले अनशन जारी रहेको र पुल नबन्दा सुदूरपश्चिमका नागरिकले समस्या झेलिरहेको विषयमा शनिबार छलफल भएको हो

सांसद भण्डारी, पूर्वसभासद् रेणु चन्द र पुरनसिंह दयाललगायतको टोलीले परराष्ट्र मन्त्रीलाई भेटेर पुलका विषयमा जानकारी गराएको सांसद भण्डारीका स्वकीय सचिव लोकेन्द्र भण्डारीले जानकारी दिनुभयो।

छलफलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले झुलाघाटमा पक्की पुल निर्माणका विषयमा भारतसँग दुईपक्षीय कुराकानी गर्ने आश्वासन दिनुभएको उहाँले बताउनुभयो।

यसअघि पनि पुलका विषयमा कुरा भएको परराष्ट्रमन्त्रीले छलफलमा बताउनुभएको सांसद भण्डारीको भनाइ छ। जनस्तरको दबाबलाई सकारात्मकरूपमा लिँदै मन्त्रालयको प्रतिनिधि टोलीलाई जिल्लामा पठाउने परराष्ट्रमन्त्रीले प्रतिबद्धता जनाउनुभएको उहाँले बताउनुभयो।

झुलाघाट नाकामा उपयुक्त स्थानमा पुल निर्माणका लागि भारत सरकारसँग छलफल गरिने मन्त्रीले आश्वासनसमेत दिनुभएको बताइएको छ।